नेपाल टेलिकमको फोरजीको टावर निर्माण कार्य अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश

Technology Khabar २४ श्रावण २०७८, आईतवार

नेपाल टेलिकमको फोरजीको टावर निर्माण कार्य अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश

काठमाडौं ।

सरकारले नेपाल टेलिकमको फोरजी सेवाको बिस्तारमा आवश्यक पर्ने टावरलगायतका संरचनाहरुको निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिस र अनुरोधमा राष्ट्रिय योजना आयोगले फोरजी सेवा बिस्तार गर्न आवश्यक पर्ने भवन तथा टावर निर्माणको कार्यलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको हो। मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव मुकुन्द शर्माले फोरजी सेवाको बिस्तारमा ढिलाई भएको हुँदा त्यसलाई सहजीकरण गर्न राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरिएको जानकारी दिए।

“विभिन्न वन क्षेत्रमा टावर तथा भवन निर्माण गर्नुपर्ने देखिएको र त्यसमा अवरोध भएको देखिएको छ। विशेषगरि गण्डकी र लुम्बिनी प्रदेशमा समस्या आएको हुँदा हाल टेलिकमको हकमा सो निर्णय गरिएको हो यसले अब कम्पनीले तिब्रगतिमा फोरजी बिस्तार गर्न टावर राख्न सक्नेछ,” उपसचिव शर्माले टेक्नोलोजीखबरलाई भने।

उनकाअनुसार अन्य सेवा प्रदायकहरुको यस्तो समस्या नभएपनि सोहीअनुसार अन्य सेवा प्रदायकहरुलाई समेत सहजीकरण गर्न सकिनेछ।

योजना आयोगका सदस्य डा. राम कुमार फुयाँलले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश हुन निश्चित मापदण्डहरु तोकिएको र सोअनुसार मात्र समावेश गर्ने गरिएको जानकारी दिए।

‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुनका लागि बिस्तृत आयोजना प्रतिवेदन प्राप्त भएको हुनुपर्ने, श्रोत लगानी सुनिश्चित भएको हुनुपर्ने, रोजगारी सिर्जनालगायत मापदण्डहरु तोकिएका छन् । र सोहि मापदण्डअनुसार यसलाई पनि समावेश गरिएको हुनुपर्छ,’ आयोगका सदस्य फुयाँलले भने।

यस बारेमा मन्त्रालयले नेपाल टेलिकमलाई समेत जानकारी गराईसकेको छ ।

easy care

प्रकाशित: २४ श्रावण २०७८, आईतवार