प्रविधिले सहज बन्दै कृषि

Technology Khabar २४ श्रावण २०७८, आईतवार

प्रविधिले सहज बन्दै कृषि

काठमाडौं ।

सधैँ हल गोरुले खेत जोतेर धान रोपाइँ गर्दै आएका इलाम नगरपालिका–४ का किसान छविलाल घिमिरेलाई यस वर्षको धान रोपाइँको अनुभव अलिक फरक भयो । यस वर्ष वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको खेत जोत्ने हाते ट्याक्टर (मिनी ट्रिलर)ले रोपाइँ गर्दाको खर्च पनि घटायो ।

“हलका हल गोरु लगाएर खेत जोत्दा निकै खर्च आउँथ्यो । यो वर्ष बिनाझन्झट कम खर्चमै धान रोपियो,” घिमिरेले भने, “खेतबारी मसिनो तथा गहिरो गरी जोत्ने, हिउँदका समयमा बारीमा डल्ला कम हुने भएपछि किसानले माघ, फागुनमा मकै रोप्न र असार साउनमा धान रोप्न मिनी ट्रिलरकै प्रयोग गरियो, उत्पादन पनि बढ्ने अपेक्षा छ। ”

परम्परागत खेती प्रणालीलाई निस्तेज पार्दै व्यावसायिक कृषितर्फ उन्मुख गराउन इलामका स्थानीय तहहरूले कृषि यान्त्रिकीरणलाई प्राथमिकता दिन थालेका छन् । कृषिका लागि वडा कार्यालयलाई छुट्याइने बजेटदेखि पालिका आफैँले पनि सोझै किसानलाई हुने गरी नयाँनयाँ प्रविधि भित्र्याउन सहयोग गर्दैछन् ।

नगरपालिकाले वडा कार्यालयलाई कृषिका लागि दिएको बजेटबाटै वडा कार्यालयले किसानलाई अनुदानमा ट्याक्टर, हाते ट्याक्टर, घाँस काट्ने मेसिनजस्ता यन्त्र प्रदान गरिरहेको इलाम नगरपालिका–४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए। “युवा, वैदेशिक रोजगारीबाट फर्किएका र किसान परिवारलाई लक्षित गरी स्वरोजगार होस् भन्ने उद्देश्यले वडा कार्यालय आफैँले पाँचवटा, नगरपालिका कार्यालयबाट चारवटा र थप तीन गरी १२ वटा मिनी ट्रिलर उपलब्ध गरायौँ,” वडाध्यक्ष दुलालले भने।

हिउँदे बाली र अहिले खेत रोपाइँ गर्दासम्म किसानलाई धेरै सहज भएको पाइएको र यसो गर्दा बेरोजगार युवालाई कृषि क्षेत्रमा लाग्न प्रेरित पनि गर्दोरहेछ भन्ने अनुभव भएको उनले बताए।

यस्तै इलाम नगरपालिका–५ ले पनि १५ वटा हाते ट्याक्टर किसानलाई ५० प्रतिशत अनुुदानमा उपलब्ध गराएको छ । यता इलाम नगरपालिकाले गत आर्थिक वर्षमा ५३ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमै वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले जानकारी दिए।

कृषिमा निकै अग्रणी रहेको सूर्योदय नगरपालिकाले पनि ५० प्रतिशत अनुदानमै हाते ट्याक्टर किसानलाई प्रदान गरेको छ । सूर्योदयले गएको आर्थिक वर्ष कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ४३ वटा हाते ट्याक्टर वितरण गरेको छ ।

सूर्योदयले हाते ट्याक्टर सँगै गाई जोन र गाई अनुदान कार्यक्रमअन्तर्गत ५० वटा घाँस काट्ने मेसिन किसानलाई प्रदान गरेको छ ।

सूर्योदयले यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता दिँदै चियाका लागि प्रयोग गरिने चिया टिप्ने तथा चिया काट्ने मेसिन पनि किसानलाई उपलब्ध गराउने लक्ष्य राखेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताए । “कृषिका लागि आगामी वर्ष १५ करोडजति रकम विनियोजित भएको छ । त्यसलाई थप प्रविधिमैत्री गराउँदै किसानलाई सहयोग गर्ने नीति छ,” आचार्यले भने।

कृषिलाई नै प्राथमिकता दिँंदै आएको रोङ गाउँपालिकाले त अझ ७५ प्रतिशत अनुदानमा किसानलाई विभिन्न मेसिन उपलब्ध गराएको छ ।

गाउँपालिकाले २१ वटा साना हाते ट्याक्टर, ३९ वटा मोटरसहितका घाँस काट्ने मेसिन, बङ्गुरलाई दाना बनाउने छवटा मेसिन र वडा नं. ६ का लागि ९५ वटा घाँस काट्ने मेसिन उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताए।

यस्तै माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिका, माई नगरपालिकामा पनि कृषि यान्त्रिकीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन् । गोरखापत्र

easy care

प्रकाशित: २४ श्रावण २०७८, आईतवार