इन्टरनेटको डाउनलोड र अपलोड स्पीड के हो? यसले कसरी फरक पार्छ?

Technology Khabar २४ श्रावण २०७८, आईतवार

इन्टरनेटको डाउनलोड र अपलोड स्पीड के हो? यसले कसरी फरक पार्छ?

काठमाडौं ।

तपाईँले राम्रै स्पीडको इन्टरनेट जोड्नुभएको छ तर  यूट्युब, नेटफ्लिकसजस्ता प्लेटफर्ममा आफ्नो मनपर्ने भिडियो स्ट्रिमिङको मज्जा लिइरहँदा अचानक भिडियो बफर हुन थाल्यो भने कस्तो लाग्ला?

यस्तो किन हुन्छ त?

वास्तवमा हामीलाई यति एमबीपीएस भनेर दिइएको प्याकेजमा डाउनलोड र अपलोड गरी दुई प्रकारका इन्टरनेट स्पीड हुन्छन् जुन हामीलाई थाहा नहुन पनि सक्छ।

यी दुवैलाई बुझ्न सहज होस् भनेर दुवै प्रकारका स्पीड, तिनीहरुले कसरी फरक पार्छन् तथा इन्टरनेटको उत्कृष्ट अनुभव गर्नका लागि यसलाई कसरी अप्टिमाइज गर्न सकिन्छ भन्ने कुरा विस्तारमा बुझाैं।

अपलोड र डाउनलोड स्पीडमा के फरक छ?

अपलोड तथा डाउनलोड स्पीडबीचको फरक थाहा पाउनका लागि शुरुमा इन्टरनेट स्पीड कसरी नापिन्छ वा निर्धारण गरिन्छ भन्ने बुझ्नु जरुरी हुन्छ।

इन्टरनेटको स्पीड भन्नाले कुनै पनि कम्प्युटरबाट वा कम्प्युटरसम्म डाटा कति छिटो ट्रान्सफर हुन्छ भन्ने बुझिन्छ। यसलाई प्रति सेकेन्डको गतिमा कति मेगाबिट ट्रान्सफर हुन्छ भनेर निर्धारण गरिन्छ। त्यसैले इन्टरनेट स्पीडलाई एमबीपीएस अर्थात् मेगाबिट पर सेकेन्डका हिसाबले नापिन्छ।

डाउनलोड स्पीड भन्नाले इन्टरनेटबाट कुनै पनि कम्प्युटरमा डाटा कति छिटो आइपुग्छ भन्ने गति हो। यस्तै अपलोड स्पीड भन्नाले कुनै पनि कम्प्युटरबाट इन्टरनेटसम्म डाटा कुन गतिमा ट्रान्सफर हुन्छ भन्ने हो। यी दुवैलाई एमबीपीएसमै बुझाइन्छ।

धेरै जसो मानिसहरु इन्टरनेटको धेरै प्रयोग द्रुत डाउनलोड स्पीडका लागि गर्छन्। डाउनलोड स्पीडले वेब पेज तथा इमेजहरु लोड गर्नेदेखि लिएर गीत सुन्ने, फाइल डाउनलोड गर्ने तथा भिडियो स्ट्रिमिङ गर्ने कामसम्मलाई असर पार्छ। भिडियो स्ट्रिमिङका लागि द्रुत गतिको इन्टरनेट आवश्यक हुन्छ। यदि इन्टरनेट स्पीड द्रुत छैन भनर् भिडियो धेरै बफर हुन्छ, फोटोहरु डाउनलोड हुँदैनन् भने वेब पेजहरु पनि खुल्न गाह्रो हुन्छ।

अपलोड स्पीड किन र कसरी महत्वपूर्ण हुन्छ?

हामीहरुमध्ये धेरैले इन्टरनेट चलाउँदा अधिकांश बेला डाउनलोड नै गरिरहेका हुन्छै भने एकाध बेलामात्र फाइलहरु अपलोड गर्छै।

इमेल पठाउनु, युट्यूब, टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा भिडियोलगायतका सामग्री राख्नु तथा जूमजस्ता एप चलाउनु र लाइभ भिडियो कल गर्नु सबै अपलोड स्पीड आवश्यक पर्ने काम हुन्। यी माथिका कामहरु हिजोआज धेरैले गर्न थालेका छन्।

अपलोड/ डाउनलोड स्पीडलाई कसरी अप्टिमाइज गर्ने?

यदि तपाईँ इन्टरनेट स्पीड कसरी अप्टिमाइज गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँले तलका केही टिप्स वा चरणहरु अपनाउनुभयो भने इन्टरनेट स्पीडको उत्कृष्ट अनुभव लिन सक्नुहुन्छ।

इन्टरनेट स्पीड टेस्ट रन गर्नुहोस्: आफ्नो कनेक्शन फिक्स गर्नुअघि के का लागि कनेक्शन फिक्स गर्ने भन्नेमा पक्का हुनुपर्छ। यसका लागि निशुल्क पाइने इन्टरनेट स्पीड टेस्ट रन गरेर आफ्नो अपलोड र डाउनलोड स्पीड कति छ थाहा पाउनुपर्छ।

राउटर रिसेट गर्नुहोस्: इन्टरनेट कनेक्शन रिफ्रेश गर्नका लागि बेलाबेलामा राउटर रिसेट गरिरहनुपर्छ। यसका लागि राउटरलाई बन्द गर्ने, ३० सेकेन्डजति कुर्ने र फेरि अन गर्नुपर्छ। यसले इन्टरनेट स्पीडमा आमूल परिवर्तन नल्याए पनि केही सहयोग अवश्य गर्छ।

क्याश फाइलहरु हटाउनुहोस्: वेबसाइटहरु भिजिट गरेपछि हाम्रो ब्राउजरले हामी र हाम्रो ब्राउजिङको तोरतरिकाका बारेमा कुकीको रुपमा जानकारीहरु संकलन गर्दछ।

मार्केटिङ गर्नेहरुले यसैलाई आधार मानेर तपाइ हामीलाई रुचट्ठ लाग्ने खालका विज्ञापन बनाउने वा पठाउने गर्छन्। तर हाम्रो ब्राउजरमा धेरै कुकी थुप्रिएपछि भने इन्टरनेट स्लो हुन थाल्छ। तब हामीले यस्ता क्याश फाइलहरुलाई हटाउनु पर्छ।

फरक आईएसपी छान्नुहोस् (सम्भव छ भने ): यदि इन्टरनेट अति नै स्लो भएको छ भने र अर्को इन्टरनेट सेवा प्रदायकको कनेक्शन उपलब्ध छ भने त्यसलाई प्रयोग गरेर हेर्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: २४ श्रावण २०७८, आईतवार