प्रविधिमैत्री विद्यालय सञ्चालनमा आएपछि स्थानीय हर्षित

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

प्रविधिमैत्री विद्यालय सञ्चालनमा आएपछि स्थानीय हर्षित

लहान बजारबाट आठ किलोमिटर उत्तरी भेगमा रहेको सगरमाथा माध्यमिक विद्यालयलाई विज्ञान तथा प्रविधिमैत्री शिक्षालयका रूपमा सञ्चालनमा आएपछि शैक्षिक क्षेत्रमा ठूलो प्रगति भएको भन्दै स्थानीयवासी हर्षित भएका छन्।

२०५५ सालमा स्थानीयवासीको चन्दा सङ्कलन र ढोड्ना गाविसको सहयोगमा सञ्चालनमा आएको यो विद्यालय लहान नगरपालिकामा गाभिएपछि सगरमाथा माविले शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको स्थानीय रामकुमारी दासले बताए। उनले आर्थिक अवस्था कमजोर भएका गरिब तथा दलितलाई गाउँमै गुणस्तरीय शिक्षा पाउने अनुकूल वातावरण बनेकोमा स्थानीयवासी खुसी देखिनु स्वाभाविकै भएको बताए ।

लहान नगरपालिकाले भवन निर्माण, प्रविधिमैत्री अध्यापनका लागि चाहिने उपकरण, आधुनिक शौचालय र भरपर्दो बाल विकास कक्षा सञ्चालनका साथै रङरोगन गरेर विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा निकै अगाडि बढेकाले सहरी क्षेत्रमा विद्यार्थी राखेर महँगो शुल्क तिरी पढाउनुपर्ने बाध्यता हटेको अर्का स्थानीय शिवनारायण चौधरीले बताए।

रङरोङग गर्न दुई लाख ५० हजार, चार कोठे भवन निर्माणका लागि ३२ लाख, विज्ञान प्रविधिमैत्री बनाउन छ लाख ५० हजारलगायतका आवश्यकताको आधारमा लहान नगरपालिका शिक्षा शाखाबाट निरन्तर सहयोग भइरहेको प्रधानाध्यापक दोस्तबहादुर भट्टराईले बताए।

उनले विज्ञान प्रविधिमैत्री बनाउन शिक्षकलाई ल्यापटप वितरण, नयाँ भवन र इन्ट्रायक्टिभ बोर्डको उद्घाटन कार्यक्रममा विद्यालयको हरहिसाब पारदर्शी गर्ने जानकारी दिए।

टायल (खपरा) भएको जीर्ण भवनमा सञ्चालित यस विद्यालयका प्रगतिका लागि स्थानीय सरकार, वाटर एड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भएको सहयोगले भौतिक रूपमा विद्यालय सम्पन्न भए पनि माविमा स्थायी शिक्षक एक जना मात्रै हुनु, राहत र निजी स्रोतका शिक्षकबाट विद्यालय सञ्चालन भइरहेकाले नगरपालिका शिक्षा शाखाको ध्यान जानुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार चौधरीले ध्यानाकर्षण गराए।

सगरमाथा माध्यमिक विद्यालयलाई लहान नगरपालिकाकै नमुना प्रविधिमैत्री विद्यालय बनाएर लहान नगरपालिका शैक्षिक विकासतर्फ अघि बढेको नगरप्रमुख मुनि साहले बताए। उनले थपे, “संस्थागत र सामुदायिक गरी १२८ वटै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा लहान नगरपालिकाले काम गरिरहेको छ।”

नगरपालिकाले सामुदयिक विद्यालयको शैक्षिक विकास र सन्तुलनका लागि दरबन्दी मिलान र शिक्षक सरुवालाई सहज रूपमा अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

लहान नगरपालिकाको उत्तरी भेगमा रहेका सामुदायिक विद्यालयको मुहार फेर्नुका साथै विज्ञान प्रविधिमैत्री बन्नुका साथै सिराहाकै लागि नमुना कार्यका रूपमा लिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिराहाका अध्यक्ष देवकुमार यादवले बताए। गोरखापत्र

TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...