उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ९४.४४ प्रतिशत स्थानीय तहमा

Technology Khabar १८ श्रावण २०७८, सोमबार

उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ९४.४४ प्रतिशत स्थानीय तहमा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै स्थानीय तहमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित अघि बढाएको परियोजना अन्तर्गत हालसम्म ९४.४४ प्रतिशत लक्ष्य पूरा भएको छ।

प्राधिकारणले हालै अद्यावधिक गरेको तथ्याङ्कअनुसार कुल ७०२ मध्ये  असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिसकिएकोे छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको छ । उक्त प्याजेक अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।

अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माणकार्य भइरहेको छ।

१८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । ७ सय २ स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।

तथ्याङ्क अनुसार यसैगरी ५ हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म ५ हजार २६४ स्थान, ५ हजार २२५ माध्यमिक विद्यालयमध्ये ४ हजार ६४० विद्यालय र ४ हजार १२२ स्वास्थ्य संस्थामध्ये तीन हजार ६५१ संस्थामा इन्टरनेट जडान भइसकेकोे छ ।

सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रोचरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।

प्राधिकरणले यस परियोजनामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई भने समावेश गरेको छैन ।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार