अनलाइन सञ्चारमाध्यम दर्ता तथा प्रेस पास सेवा अब अनलाइनमार्फत मात्र हुने

Technology Khabar १८ श्रावण २०७८, सोमबार

अनलाइन सञ्चारमाध्यम दर्ता तथा प्रेस पास सेवा अब अनलाइनमार्फत मात्र हुने

काठमाडौं ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा प्रेस पास सेवा अब अनलाइनबाट मात्र उपलब्ध हुने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो।

साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरण, अनलाइन मिडिया दर्ता र नवीकरणसँग सम्बन्धित सबै सेवाहरु अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो ।

यसअघि विभागले भौतिक उपस्थिति तथा अनलाइन दुबै माध्यमबाट सेवा दिदै आएको थियो । भौतिक उपस्थितिमा सिमित सेवाहरु मात्र रहँदै आएको थियो । विभागले यहि साउन १० गतेदेखि अनलाइन सेवाको शुरूवात गरेको हो।

विभागको वेबसाइटमा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूर्ण विवरण भर्नुपर्नेछ।

त्यसपछि त्यहाँ मागिएको कागजातको २०० केबीभन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ। सबै विवरण भरेपछि सबमिट गर्नुपर्छ ।

सबमिट भएपछि उक्त निवेदन विभागले स्वीकृत गर्नुपर्नेछ। विभागबाट स्वीकृत भएपछि कनेक्ट आईपीएसबाट राजस्व तिरिसकेपछि मात्र आफ्नो प्रमाणपत्र विभाग वा आफुलाई पायक पर्ने जिल्ला हुलाक कार्यालयबाट लिन सकिने जनाएको छ।

easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार