पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नविकरण नगर्न प्राधिकरणमा टेलिकमको पत्र

Technology Khabar १८ श्रावण २०७८, सोमबार

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नविकरण नगर्न प्राधिकरणमा टेलिकमको पत्र
काठमाडौंको विद्युत पोलमा रहेको टेलिफोन र इन्टरनेटको तारहरु । फाइल फोटो

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो पोलको भाडा नतिरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमा गुनासो गरेको छ। कम्पनीले हालै पत्र पठाउँदै पोलको भाडा नतिरे इन्टरनेट सेवा प्रदायकहरुलाई सहजीकरण नगरिदिन भन्दै अनुरोध गरेको हो।

टेलिकमले केहि दिनअघि प्राधिकरणमा पठाएको पत्रमा पोलको रकम भुक्तानी नगरेका कम्पनीहरुको अनुमतिपत्र नविकरण नगर्नका लागि भनेको छ।

“लाइसेन्स नविकरण गर्दा पोल भाडा तिरेको सिफारिस र नो अब्जेक्सन लेटर लिएर मात्र इन्टरनेट सेवा प्रदायकहरुको कम्पनी र अनुमतिपत्र नविकरण गरिदिन, कम्पनीले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ,” पत्रमा भनिएको छ।

नेपाल टेलिकमकाअनुसार हालसम्म अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले पोलको भाडा रकम कम्पनीलाई तिरेका छैनन्।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पत्र पठाएको जानकारी दिँदै कम्पनीको पोल सेवा प्रयोग गरे बापत भाडा तिनुपर्ने बताए।

“ठूला इन्टरनेट सेवा प्रदायकहरुले समेत पोल प्रयोग गर्ने तर भाडा रकम नतिर्ने गर्दै आएका छन् । उनीहरुले पोलमा अनावश्यक तार तान्दा सौन्दर्यीकरणमा असर परेको छ भने धेरै तारले जोखिम समेत बढाएको छ,” प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरलाई भने।

पोलको भाडा नतिरी सो सेवा लिनु व्यावसायिक हिसाबले समेत उपयुक्त नहुने उनको भनाई छ।

दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले पत्र आएको पुष्टि गर्दै सो बारेमा कानूनअनुसार गर्ने प्रकृयामा रहेको बताए।

“टेलिकमले आफ्नो पोल भाडा नतिरेको भन्दै उजुरीसहित पत्र पठाएको छ। हामीले त्यस पत्रको कानूनी अवस्था बारे हेरिरहेका छौं । दूरसञ्चार ऐनले उल्लेख गरेअनुसार नै नियमनकारीले काम गर्नेछ,” प्रवक्ता पौडेलले भने।

इन्टरनेट सेवा प्रदायकहरुले टेलिकमको साथै नेपाल विद्युत प्राधिकरणलाई समेत पोलको भाडा नतिरेको आरोप लाग्दै आएको छ।

उनीहरुले यसअघि सरकारी कमिटीले निर्धारण गरेको भाडा रकम समेत अमिल्दो रहेको भन्दै सो रकम तिर्न अस्विकार गरेका थिए । उनीहरुले बढेको पोलको भाडा दर व्यवहारीक नभएको भन्दै विरोध जनाउँदै आएका छन् ।

सम्बन्धित-

पोलको २०० प्रतिशत बढेको भाडा नमान्ने आइस्पानको भनाई, नत्र ग्राहक सेवा शुल्क बढाउनुपर्ने माग

यसअघि पनि २०७६ कात्तिकमा नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गरे बापतको भाडा तिर्न भन्दै सूचना जारी गरेको थियो। कम्पनीले सो समयमा भाडा रकम नतिरेको खण्डमा तार काटिदिने चेतावनी दिएको थियो।

नेपाल टेलिकमले भन्यो- कात्तिक भित्र पोलको भाडा नतिरे केबुल टिभी र इन्टरनेटको तार हटाईदिने

त्यसैगरी टेलिकमका प्रादेशिक कार्यालयहरुले समेत सूचनामार्फत पोलको भाडा तिर्न आउन इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरुलाई अनुरोध गर्दै आएको छ।

टेलिकमको पोल प्रयोगको भाडा नतिरे जेठ १ गतेबाट तारहरु हटाईदिने चेतावनी

तर सेवा प्रदायकहरुले भने सो सूचनाको बेवास्ता गर्दै हालसम्म कुनै रकम नतिरेको बताईएको छ। उनीहरुले पोलको भाडा रकम नतिर्ने तर सोही मार्फत आफ्नो इन्टरनेट सेवा ग्राहकलाई प्रदान गरेर आम्दानी गरिरहेको आरोप लाग्दै आएको छ ।

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

Loading...