इन्टरनेट सेवा नहुँदा सदरमुकाममा नियमित पढाइ ग्रामीण भेगमा अन्यौल

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

इन्टरनेट सेवा नहुँदा सदरमुकाममा नियमित पढाइ ग्रामीण भेगमा अन्यौल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द पर्वतका विद्यालय खुल्न सकेका छैनन् ।

वैशाखबाट सुरुभएको निषेधाज्ञाका कारण बन्द भएका विद्यालयमध्ये सदरमुकाम क्षेत्रका विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ सुरु गरिए पनि ग्रामीण भेगका विद्यालय भने अन्योलमा छन् ।

सहरी क्षेत्रमा वैकल्पिक पढाइका लागि इन्टरनेटको सुविधा भएका कारण सदरमुकामका विद्यालयमा नियमित पढाइ भइरहेको छ।

कुश्मास्थित नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले निषेधाज्ञाको समयमा पनि अनलाइनबाट पठनपाठन गराइएको बताए ।

वैशाखबाट जारी निषेधाज्ञा तीन महिनासम्म चलेपछि सधैँभरि यसरी नै विद्यालय बन्द गरेरबस्दा बालबालिकामा मनोवैज्ञानिक समस्या सिर्जना हुने देखिएकाले विद्यालयमा नियमित पढाइ सुरु गरिएको विद्यालयले जनाएको छ।

शिवालय माध्यमिक विद्यालयले असारबाटै अनलाइनमार्फत नयाँ शैक्षिक सत्रको सुरुवात गरि सकेको प्रधानाध्यापक भूपेन्द्र चापागाईंले बताए ।

सदर मुकाममा यी दुई सामुदायिक विद्यालय जस्तै सबै निजी विद्यालयले पनि अनलाइनबाट पठनपाठन अगाडि बढाइरहेका छन् । सदर मुकामका विद्यालयले धमाधम पढाइ गराएका भए पनि ग्रामीण क्षेत्रका बालबालिका भने अलमलमा छन् । कतिपय विद्यालयहरूले जसोतसो अनलाइन पढाइ सुरु गरे पनि गाउँगाउँमा रहेका अधिकांश विद्यालय भने क्रियाकलाप विहीन छन् ।

ग्रामीण क्षेत्रका धेरै बासिन्दाको आर्थिक अवस्था कमजोर रहँदा स्मार्टफोन किन्न र इन्टरनेट जडान गर्न नसक्नुका साथै ग्रामीण क्षेत्रमा इन्टरनेट प्रदायक संस्था नहुनु जस्ता कारणले समस्या भइरहेका फलेवासस्थित जनसहयोगी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले बताए ।

‘गाउँमा बजारमा जस्तो नहुने रहेछ, न यहाँ नेट गतिलो टिप्छ, न नेट र मोबाइल किन्न सक्ने अभिभावकको क्षमता छ । दुई/चार जनाले सक्छन् भन्दैमा सबैले सकेको भन्न मिल्दैन,’ उनले भने ।

१० जनाले अनलाइनमा पढेर, ४० जना बाहिर रहनुपर्ने बाध्यतामा राख्नुभन्दा शिक्षक विद्यार्थीलाई खोप लगाएर विद्यालय सञ्चालन गर्दा सहज हुने थापाले बताए । गोरखापत्र

TK Viber

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

Loading...