विश्वव्यापी चिप अभावले आईफोन उत्पादनमा प्रभाव पार्ने एप्पलको भनाइ

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

विश्वव्यापी चिप अभावले आईफोन उत्पादनमा प्रभाव पार्ने एप्पलको भनाइ

विश्वमा चलिरहेको चिप अभावका कारण आगामी दिनमा आईफोन उत्पादनमा प्रभाव पर्न सक्ने एप्पलले जनाएको छ।

गत वर्षदेखि चल्दै आएको विश्वव्यापी चिप अभावको समस्याले स्मार्टफोन, डिभाइस तथा अटोलगायतका थुप्रै प्राविधिक क्षेत्रलाई प्रभाव पारिरहेको छ।

यसअघि चिप अभावको प्रत्यक्ष असर अटो क्षेत्रमा देखिएकोमा अब यो देखिने गरी कन्जुमर इलेक्ट्रोनिक्सको क्षेत्रमा फैलिएको छ।

स्मार्टफोन क्षेत्रमा यसअघि सामसङ, ह्वावे तथा शाओमीलगायतका अन्य ब्रान्डहरुलाई प्रत्यक्ष असर गरे पनि एप्पललाई खासै फरक परेको थिएन। तर अब भने चिप अभावको समस्यामा तत्कालै सुधार आउने नदेखिए पछि अमेरिकी टेक जायन्ट एप्पललाई पनि यसले नकारात्मक असर पार्न सक्नेमा कम्पनीले संकेत गरेको छ।

यसबाट आम्दानीमा गिरावट आउनुका साथै कम्पनीको सेवा व्यवसायमा पनि असर पर्ने बुझिएको छ।

एप्पलका अधिकारीहरुले तेस्रो आर्थिक त्रैमासमा ३६.४ प्रतिशतले वृद्धि भएकामा चालु चाैथो आर्थिक त्रैमासमा पनि दुई अंकको वृद्धि हुने बताएका छन्।

तेस्रो त्रैमासमा चिप अभावले खासै फरक नपारे पनि चाैथो त्रैमासमा भने यसले आईफोन उत्पादनमा नराम्रो असर पार्ने उनीहरुको बुझाइ छ।

कम्पनीका सीईओ टिम कूकले चिप अभावका कारण पुरानै प्रविधिलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको बताएका छन्।

विश्लेषकहरुको बुझाइमा भने एप्पलले आफ्नो आउँदा आईफोन मोडलहरुका लागि चिप माैज्दात राखिरहेको छ।

TK Viber

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

Loading...