फेसबुकले आफ्ना अमेरिकी कर्मचारी कार्यालय फर्कँदा अनिवार्य खोपको व्यवस्था गर्ने

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

फेसबुकले आफ्ना अमेरिकी कर्मचारी कार्यालय फर्कँदा अनिवार्य खोपको व्यवस्था गर्ने

फेसबुकले अफिस फर्कनुअघि आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप दिनुपर्ने भएको छ।

कम्पनीले बुधबार सञ्चार माध्यम द भर्जलाई आफ्ना कर्मचारी अफिस आउँदा सबैले खोप लगाएको हुनुपर्ने बताएको हो।

फेसबुकका भाइस प्रेसिडेन्ट अफ पिपल लोरी गोलरले भने, ‘हाम्रो कार्यालय खुलेपछि काममा फर्कने सबै कर्मचारीलाई यूएस क्याम्पसहरुमा अनिवार्य खोप लगाउने व्यवस्था गर्नेछाैं। स्थानीय परिस्थिति र नियम अनुसार यो नीति लागू गरिने र विभिन्न कारणले खोप लगाउन नमिल्नेहरुका हकमा छुट्टै व्यवस्था हुनेछ। हामी कर्मचारी कार्यालयमा फर्कँदा सबैको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्न निरन्तर विज्ञहरुसँग सम्पर्कमा रहनेछाैं।’

फेसबुकले आफ्नो अमेरिकास्थित कार्यालय आगामी अक्टोबरबाट खुल्ने अपेक्षा गरेको छ।

देशहरुमा कोभिड १९ का बिरामीहरु बढिरहेकोले अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार खोप लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने बताएको छ।

फेसबुकको यो कदम गुगलका सीईओ सुन्दर पिचाइले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य खोपको व्यवस्था हुने घोषणा गरेको केही घण्टापछि आएको हो।

गुगलले सेप्टेम्बरबाट सारेर अक्टोबर १८ बाट मात्र कार्यालय खोल्ने भएको छ भने लिफ्टले पनि आफ्ना कर्मचारीलाई कार्यालय आउँदा खोपको प्रमाण लिएर आउन भनेको छ।

यसैगरी एप्पलले पनि आफ्ना कर्मचारीलाई अमेरिकाका २७० भन्दा बढी खुद्रा स्टोरमा आउँदा मास्क लगाउनु पर्ने नियममा अझ कडाइ गरेको छ

माइक्रोसफ्टले भने आफ्ना कर्मचारीलाई खोपको व्यवस्था गर्ने वा नगर्ने भन्नेबारे कुनै प्रतिक्रिया नजनाएको द भर्जमा उल्लेख छ।

TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...