एक महिनाभित्र सबै सरकारी निकायहरु अफिस अटोमेशनमा, सरकारी ईमेल प्रयोग अनिवार्य

Technology Khabar १३ श्रावण २०७८, बुधबार

एक महिनाभित्र सबै सरकारी निकायहरु अफिस अटोमेशनमा, सरकारी ईमेल प्रयोग अनिवार्य

सबै सरकारी कार्यालयहरु आगामी एक महिनाभित्र पूर्ण स्वचालित (अटोमेसन) मा जानुपर्ने भएको छ। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको सचिवस्तरीय बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अवस्था लगायतको विषयमा छलफल भएको थियो।

मुख्यसचिव बैरागीले सिंहदरबारभित्रका निकायहरूमा साउन मसान्तभित्र तथा बाहिरका निकाय तथा कार्यालयमा एक महिनाभित्र अफिस अटोमेशन लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिएका छन् ।

सो बैठकमा मुख्यसचिवले सबै सचिवहरूलाई अनिवार्य रुपमा सरकारी ईमेल प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ताद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

यसका साथै बैठकमा सरकारी तथ्यांक तथा डाटावेसको सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएको थियो ।

विभिन्न मन्त्रालय तथा निकायहरूको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलापको मन्त्रालयगत प्रगति स्थितिका बारेमा समेत बैठकमा छलफल भएको र सिंहदरबार प्रवेशसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो ।

आव २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत अन्य प्राथमिकताप्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गर्नसमेत सचिवहरूलाई निर्देशन दिइएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Pressrelease-2078-04-13
TK Viber

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

Loading...