Technology Khabar १३ श्रावण २०७८, बुधबार
काठमाडौं ।
गेमिङ ब्रान्ड निन्टेन्डोले आफ्नो डक्टर मारियो वर्ल्ड गेम बन्द गर्ने भएको छ।
कम्पनीले आज उक्त गेमको इन-एप डाइमन्ड करेन्सी सकिने भएकाले उक्त पजल गे आगामी नोभेम्बर १ देखि बन्द हुने जनाएको हो।
लगभग २ वर्षअघि सार्वजनिक भएको उक्त गेम निन्टेन्डोले बन्द गर्न लागेको पहिलो गेम हो।
सेन्सरटावरले यो गेम सार्वजनिक भएको ६ महिनापछि संकलन गरेको तथ्याङ्क अनुसार डक्टर मारियो वर्ल्ड आम्दानीका हिसाबले निन्टेन्डोले निकालेको मोबाइल गेममध्ये सबैभन्दा खराब प्रदर्शन गर्नेमा परेको छ।
यसमा सुपर मारियो रन पनि पर्दछ जसको टीठलाग्दो बिक्रीका कारण निन्टेन्डोलाई शुरुमा फ्रिमियम मोडलमा जानुपरेको थियो। फायर एम्बलेम हिरोज भने तुलनात्मक रुपमा निन्टेन्डोको हिट भएको गेममा पर्छ जसले अन्य गेमहरुको कुल कमाइ भन्दा बढी आम्दानी गरेको थियो।
मोबाइल गेमले अझै पनि निन्टेन्डोको समग्र कमाइको सानो हिस्सा ओगटिरहेको छ। गत वर्ष कम्पनीले आफ्नो समग्र कमाइको ३.२४ प्रतिशत मोबाइल तथा आईपी सम्बन्धित आम्दानीमार्फत् भित्र्याएको थियो।
यसमा लाइसेन्स सम्झोताको रकमसमेत जोडिएको छ।
प्रकाशित: १३ श्रावण २०७८, बुधबार