ब्रोडब्याण्ड इन्टरनेटको उपलब्धता बढ्दो, जेठसम्ममा ९१ प्रतिशतभन्दा बढी जनतामा पुग्यो

Technology Khabar १३ श्रावण २०७८, बुधबार

ब्रोडब्याण्ड इन्टरनेटको उपलब्धता बढ्दो, जेठसम्ममा ९१ प्रतिशतभन्दा बढी जनतामा पुग्यो

काठमाडौं ।

नेपालमा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या २०७८ जेठसम्म समग्रमा ९१ प्रतिशत नाघेको छ।

अघिल्लो महिना अर्थात् २०७८ वैशाखमा पहिलो पटक यो संख्या ९० प्रतिशत नाघेको थियो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७८ जेठ महिनाको तथ्यांकअनुसार तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या ९१.५६ प्रतिशत पुगेको हो जुन एक महिना अघिको भन्दा १ प्रतिशतले बढी हो। यो आँकडा २०७८ वैशाख मसान्तसम्म ९०.६५ प्रतिशत थियो।

तथ्यांकअनुसार ब्रोडब्याण्डको प्रयोगकर्ता संख्यामा उल्लेख्या वृद्धि ल्याउनमा फिक्स्ड ब्रोडब्याण्डको भूमिका बढी देखिन्छ।

वैशाखदेखि जेठ बीचको एक महिनामा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरु करिब १ प्रतिशतको हाराहारीले बढेका छन् जसले गर्दा कुल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु ९१.५६ प्रतिशत पुगेका हुन् ।

गत वैशाख महिनामा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरु २४.४० प्रतिशत रहेकोमा  जेठ महिनामा सो संख्या बढेर २५.२७ प्रतिशत पुगेको हो ।

वैशाख महिनादेखि देशभर कोरोना भाइरसको महामारीलेगर्दा भएको निषेधाज्ञाका कारण मानिसहरुले घरबाटै काम गर्ने तथा अनलाइन कक्षा लिने अवस्था आउँदा त्यसको सकारात्मक असर फिक्स्ड वायर्ड ब्रोडब्याण्डमा परेको देखिएको थियो।

तर निषेधाज्ञाको मोडालिटी परिवर्तन भए पनि यो क्रम भने जेठमा पनि उस्तै देखिएको छ।

त्यसैगरी मोबाइल ब्रोडब्याण्डको प्रयोगकर्ताहरु समेत न्यून मात्रामा वृद्धि भएका छन् । वैशाख महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु ६५.४७ प्रतिशत रहेकोमा बैशाख महिनामा यो बढेर ६५.६८ प्रतिशत पुगेको छ ।

फिक्स्ड ब्रोडब्याण्ड  वायरलेस

प्राधिकरणको रिपोर्टले  फिक्स्ड ब्रोडब्याण्ड वायरलेसका ग्राहकहरु पनि झिनो  संख्यामा बढेका देखाएको छ। विशेषगरी कर्पोरेट र ठूला कम्पनीहरुले प्रयोग गर्ने वायरलेस प्रविधिमा वैशाख महिनामा शून्य दशमलब ६९ प्रतिशत प्रयोगकर्ताहरु रहेकोमा  जेठमा  झिनो अंकले बढेर शून्य दशमलब  ७१ प्रतिशतमा पुगेको छ ।

एफटीटीएचका ग्राहक पाैने ३ लाख थपिए 

फिक्स्ड वायर्ड ब्रोडब्याण्डतर्फ संख्याको आधारमा हेर्दा एफटीटीएचतर्फ एकै महिनामा करिब पाैने ३ लाख ग्राहकहरु विस्तार भएका छन् ।

वैशाख महिनामा एफटीटीएचका ग्राहकहरु ६५ लाख ७४ हजार  २९८ जना भएकोमा  जेठमा यो संख्या  बढेर ६८ लाख ५२ हजार  ६५७ जना पुगेका छन् ।

एडीएसएलका ग्राहक घट्ने क्रम जारी

अर्कोतर्फ एडीएसएलका ग्राहकहरु भने घट्ने क्रम जारी रहेको पाइएको छ।वैशाखमा ८ लाख २८६ जना  एडीएसएल प्रयोगकर्ता रहेकामा  जेठ मसान्तसम्म १४ हजार ९०२ जना घटेर यो संख्या ७ लाख  ८५ हजार  ३८३ मा झरेको तथ्याङ्क छ ।

रेडियो वाइफाइका ग्राहक थोरै बढे

फिक्स्ड वायरलेस ब्रोडब्याण्डमध्ये रेडियो वाईफाईका ग्राहकहरु पनि केही संख्यामा बढेका छन्। वैशाख महिनामा १ लाख १८ हजार ३६४ जना रहेकामा १ महिनामा ४ हजार ८९० जना बढेर १ लाख २३ हजार २५४ जना पुगेका छन्। वाइम्याक्सका ग्राहक संख्या भने स्थिर छ। वैशाखमा ९० हजार ५६३ प्रयोगकर्ता रहेकामा जेठमा पनि यो संख्यामा कुनै परिवर्तन आएको छैन।

मोबाइल ब्रोडब्याण्ड: फोरजी‍ घट्यो, थ्रीजी बढ्यो

त्यसैगरी मोबाइल ब्रोडब्याण्डतर्फ जेठ महिनामा फोरजी प्रयोगकर्ताहरुको संख्यामा करिब ३३ हजारको हाराहारीले कमी आएको देखिएको छ भने थ्रीजी प्रयोगकर्ताहरुको संख्यामा भने सुधार आएको देखिन्छ ।

फोरजीका कुल प्रयोगकर्ताहरु वैशाख महिनामा ७६ लाख ९७ हजार ८६३ रहेकामा ३३ हजार  ५०४ घटेर  ७६ लाख  ६४ हजार  ३५९ मा झरेको छ।

अर्कोतर्फ थ्रीजीका ग्राहकहरु करिब १ लाख हाराहारीले बढेको तथ्यांकमा देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार १ करोड १९ लाख ५६ हजार १२० जना रहेकोमा यो संख्या जेठमा ९६ हजार ५५५ ले वृद्धि हुँदै १ करोड २० लाख ५२ हजार  ६७५ जना पुगेको छ ।

फोरजीमा एनसेल यथास्थानमा: टेलिकमका बढे, समार्टका घटे

फोरजीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेल आजियाटाको ४८ लाख ५ हजार माथि पुगेको छ भने नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताहरु  वैशाख महिनाको भन्दा २१ हजारको हाराहारीमा बढेर २७ लाख ७ हजार नाघेका छन् ।

त्यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ताहरु वैशाखमा २ लाख ६ हजार भन्दा केही बढी रहेकामा जेठमा उक्त संख्या  ५५ हजारको हाराहारीमा घटेर १ लाख ५१ हजार आसपास आइपुगेको छ।

थ्रीजीमा नेपाल टेलिकम अगाडि, एनसेल यथावत्

थ्रीजीमा भने नेपाल टेलिकमको नै अग्रता रहेको देखिएकोछ।  वैशाखमा नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ताहरु ९४ लाख ९४ हजारको हाराहारीमा  रहेकामा १ लाखको हाराहारीमा थपिएर ९५ लाख ९० हजार नाघेका छन्।एनसेलका थ्रीजी प्रयोगकर्ताहरु भने वैशाख महिनामा झैं २४ लाख ६२ हजार आसपासमा यथावत् छन् ।

ईभिडियो ब्रोडब्याण्डतर्फ भने १ लाख ३६ हजार हाराहारी ग्राहकहरु रहेको देखिन्छ।  ईभिडियो सेवा एनसेल र स्मार्ट टेलिकमसँग नभएको र संख्यामा पनि वैशाखको तुलनामा खासै परिवर्तन नआएको देखिन्छ।

easy care

प्रकाशित: १३ श्रावण २०७८, बुधबार