९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म प्राधिकरणबाट स्वीकृत, सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म प्राधिकरणबाट स्वीकृत, सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गरेको छ। प्राधिकरणले सबैभन्दा मूल्यवान रहेको ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई अधिकतम सदुपयोग गरेर सेवाको गुणस्तरमा सुधार गर्ने अपेक्षासहित फ्रिक्वेन्सी रिफार्म गरेको हो।

९०० मेगाहर्ज ब्याण्डको हालको फ्रिक्वेन्सी प्रयोगमा सुधार गर्दै रिफार्म गरेर सेवा प्रदायकहरुलाई नयाँ रेन्ज उपलब्ध गराईने बताईएको छ।

प्राधिकरणकाअनुसार हाल केहि सेवा प्रदायकहरुले लिएको ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फरक फरक ब्लकमा रहेको र एउटै क्रममा नभएको हुँदा त्यसलाई सुधार गर्न खोजिएको छ । यसले आगामी दिनमा विशेषगरि ४जी सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्राधिकरणको साउन ४ गते बसेको बोर्ड बैठकले ९०० मेगाहर्जको फ्रिक्वेन्सी रिफार्म योजनालाई अनुमोदन गरेसँगै सेवा प्रदायकहरुले नयाँ रेन्जमा फ्रिक्वेन्सी प्राप्त गर्ने छन् ।

नेपाल टेलिकम र यूनाइटेड टेलिकमले प्रयोग गरिरहेका सो फ्रिक्वेन्सी ब्याण्डको रेन्जमा भने परिवर्तन नहुने प्राधिकरणको भनाई छ।

त्यसैगरि अन्य सेवा प्रदायकहरु एनसेल आजियाटा, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमले ९०० मेगाहर्ज ब्याण्डमा प्रयोग गरिरहेका फ्रिक्वेन्सीमा रेन्जमा भने फरक पर्नेछ।

प्राधिकरणकाअनुसार युटिएलले ५ मेगाहर्ज, नेपाल स्याटेलाइट टेलिकमले ४.४ मेगाहर्ज, नेपाल टेलिकमले ९.६ मेगाहर्ज, स्मार्ट टेलिकमले ५ मेगाहर्ज र एनसेल आजियाटाले ९.६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएका छन् । यी सबै पेयर्ड फ्रिक्वेन्सी हुन् ।

यसमा अपलिंक डाउनलिंकको लागि फरक रेन्जहरु प्रदान हुने गर्दछ ।

प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डमा ८८० देखि ९१५ मेगाहर्ज अपलिंकका लागि सेवा प्रदायकहरुलाई उपलब्ध गराउनेछ भने ९२५ मेगाहर्ज देखि ९६० मेगाहर्जसम्म डाउनलिंकका लागि उपलब्ध गराउनेछ ।

९०० मेगाहर्जको फ्रिक्वेन्सी रिफार्म गरेअनुसार सबैभन्दा अगाडि यूटिएलको फ्रिक्वेन्सी रहने बताईएको छ भने अन्तिम रेन्जमा एनसेल आजियाटाको हुने बताईएको छ ।

प्राधिकरणको उपलब्ध तथ्यांकअनुसार हाल ९०० मेगाहर्ज ब्याण्डमा ३५ मेगाहर्ज फ्रिक्वेन्सी एकतर्फि र ७० मेगाहर्ज फ्रिक्वेन्सी अपलिंक तथा डाउनलिंक दुबैका लागि खुला रहेको छ।

जसमध्ये करिब ३३.६मेगाहर्ज फ्रिक्वेन्सी सेवा प्रदायकहरुले लिईरहेका छन भने बाँकी १.४ मेगाहर्ज फ्रिक्वेन्सी हालसम्म प्रयोग हुन सकेको छैन् ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले फ्रिक्वेन्सी रिफार्म गर्ने कार्य नियमित प्रकृया भएको भन्दै कम्पनीहरुलाई सेवाको गुणस्तर बढाउने गरि फ्रिक्वेन्सी व्यवस्थापन गरिएको बताए ।

‘हाल एउटै फ्रिक्वेन्सीमा २जी देखि ४जीसम्म चलाउनुपर्ने अवस्थामा ९०० मेगाहर्ज ब्याण्ड भविश्यमा ५ जीको लागि समेत प्रयोग हुनसक्ने देखिन्छ। त्यसैले यसलाई अहिले नै व्यवस्थित गरिएको हो ।’ निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने, ‘फ्रिक्वेन्सी रिफार्म गर्दा ४जी सेवाको गुणस्तरमा सुधार आउने र सेवाग्राहीहरुले पनि सहजरुपमा ४जी प्रयोग गर्नसक्नेछन् ।’

प्राधिकरणले सो रिर्फामको प्रकृया आगामी १ महिनाभित्र सम्पन्न गर्न र त्यसको जानकारी गराउने गरी सेवा प्रदायकहरुलाई निर्देशन दिने जनाएको छ ।

प्राधिकरणका अनुसार कुन कम्पनीसँग हाल कुन फ्रिक्वेन्सी छ हेर्नुस्-

Frequency-Assignment-Table-of-Nepal-July-2021

यो पनि पढ्नुस्-

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार