तीनवटै मोबाइल सेवा प्रदायकको फोन कलको गुणस्तर कमजोर, मापदण्ड नै पुरा गर्न सकेनन्

Technology Khabar १० श्रावण २०७८, आईतवार

तीनवटै मोबाइल सेवा प्रदायकको फोन कलको गुणस्तर कमजोर, मापदण्ड नै पुरा गर्न सकेनन्

काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र हाल संचालनमा रहेको तीनवटै मोबाइल सेवा प्रदायक कम्पनीहरुको फोनकलको गुणस्तर कमजोर देखिएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणअनुसार तीनवटै कम्पनीका कल परीक्षण मापदण्डभन्दा न्यून पाईएको छ ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको कल परीक्षण गरेको थियो ।

तीनवटै सेवा प्रदायकहरुले कल स्थापना हुन लाग्ने समय र सफलताको दरको मापदण्ड पुर्याउन सकेका छैनन तर आफैं फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने सफलता हासिल गरेका छन् ।

सो अनुसार सबैभन्दा कमजोर कल परीक्षण नतिजा स्मार्ट टेलिकमको रहेको छ ।

कल स्थापना हुन लाग्ने समय र सफलताको दर सबैभन्दा न्यून स्मार्ट टेलिकमको ८४.४७ प्रतिशत रहेको देखिएको छ । त्यसैगरि कल स्थापना हुन लाग्ने समय पनि सबैभन्दा धेरै स्मार्ट टेलिकमको १०.२७ सेकेण्ड रहेको छ ।
यसपछिको खराब सेवामा नेपाल टेलिकम परेको छ जसको कल स्थापना हुने सफलताको दर ९०.५१ प्रतिशत छ भने एनसेल आजिायाटाको ९४.४३ प्रतिशत रहेको छ ।

प्राधिकरणको मापदण्डअनुसार कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सो भन्दा धेरै हुनुपर्दछ। तर तथ्यांकअनुसार तीनवटै कम्पनीहरु सो मापदण्ड पुरा गर्न असफल भएका छन् ।

अर्कोतर्फ आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने तीनवटै कम्पनीहरु मापदण्डभित्र परेका छन्।

प्राधिकरको नतिजाअनुसार त्यस्तो परीक्षणमा एनसेल सबैभन्दा अगाडि रहेको छ । एनसेलको आफैं फोनकल वा सम्पर्कविच्छेद हुने दर शुन्य दशमलब २ प्रतिशत छ भने स्मार्ट टेलिकमको शुन्य दशमलब ४५ प्रतिशत तथा नेपाल टेलिकमको शुन्य दशमलब ८७ प्रतिशत रहेको छ ।

यस्तो दर प्राधिकरणले २ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने मापदण्डमा तोकेको छ ।

कसरी हुन्छ परीक्षण

प्राधिकरणकाअनुसार गत वर्ष चैतदेखि २०७८ जेठ महिनासम्म ड्राइभ टेष्ट गरिएको थियो भने यसमा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणद्धारा लगातार फोनकल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिन्छ ।

कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानात्मर रुपमा एकैसाथ गरिन्छ ।

हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनौट हुनेगरी उपकरणमा व्यवस्था गरिन्छ ।

प्राधिकरणले सो अवधिमा कमलादी, त्रिपुरेश्वर, स्वयम्भु, छाउनी, चावहिल, शान्तिनगर, टेकु, ग्वार्को, टिकाथली, बालकोट, पेप्सीकोला,लगायतका स्थानहरुमा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको जनाएको छ ।

हेर्नुस पुरा रिपोर्ट-

DT-Report-Kathmandu-Valley-2077-78
easy care

प्रकाशित: १० श्रावण २०७८, आईतवार