नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी

Technology Khabar ९ श्रावण २०७८, शनिबार

नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी
सांकेतिक

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँदै आएको छ तर अहिलेसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन । सम्भाव्यता अध्ययन तथा अनुसन्धान, परामर्शदाता नियुक्तिजस्ता प्रक्रियागत काममै स्याटेलाइटको चर्चा अल्झिएको छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले नेपाललाई उपलब्ध गराएको स्लटमा स्याटेलाइट राख्ने जिम्मेवारी पाएको नेपाल दूरसञ्चार प्राधिकरणले अब भने स्याटेलाइट राख्ने कामलाई एक कदम अघि बढाएको छ । नेपालको स्याटेलाइट राख्न प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ मा ५० करोड रुपियाँ बजेट नै विनियोजन गरेको छ । विनियोजित बजेट स्याटेलाइट लञ्च र ग्राउन्ड स्टेसन स्थापनाका लागि बोलपत्र आह्वान गर्न तथा त्यसका लागि योग्य कम्पनी छनोट गर्न खर्च हुनेछ ।

यसबाहेक छुट्टै २० करोड रुपियाँ पनि व्यवस्था गरेर प्राधिकरणले परामर्शदाताबाट प्रारम्भिकसहित अन्तिम मस्यौदा प्राप्त गर्ने अपेक्षा गरेको छ । यो भने पुरानै कार्यक्रमको निरन्तरता हो । स्याटेलाइट राख्ने र ग्राउन्ड स्टेसन निर्माणका लागि योग्य कम्पनी छनोट गर्ने काम भने नयाँ कार्यक्रम हो ।

प्राधिकरणले यसअघि पनि स्याटेलाइट स्थापना गर्न अन्तर्राष्ट्रिय मापदण्डको कार्यविधि, सञ्चालन मोडालिटी, व्यावसायिक योजनाको नियन्त्रण, नियमन र सुरक्षाका लागि कानुनी नीतिगत व्यवस्थाका लागि १० करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ ।

स्याटेलाइट स्थापनाका लागि आवश्यक परामर्शदाता छनोटका लागि २०७३ सालमै प्राधिकरणले सङ्क्षिप्त सूचीसमेत तयार गरिसकेको थियो तर उक्त प्रक्रिया रद्द गर्दै दोस्रो पटक परामर्शका लागि आह्वान गरिएको थियो ।

सम्बन्धित-

यी हुन् नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न योग्यता पुगेका कम्पनीहरु

यसबाहेक सरकार आफैँले पनि स्याटेलाइट राख्न फ्रान्ससँग समझदारी गरिसकेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा उक्त समझदारी भएको थियो ।

समझदारीअनुसार अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू)ले नेपाललाई उपलब्ध गराएको अर्बिटल स्लटमा स्याटेलाइट सञ्चालन र व्यवस्थापन गर्न सहुलियतपूर्ण आर्थिक तथा प्राविधिकलगायत अन्य सहयोग उपलब्ध गराउन फ्रान्स सहमत भएको थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनले नेपाललाई ब्रोडकास्टिङ र फिक्स्ड स्याटेलाइट सेवाका लागि सन् १९८४ मा अन्तरिक्षमा दुईवटा ‘रेडियो अर्बिटल स्लट’ उपलब्ध गराएको थियो । यद्यपि उक्त स्लटको उपयोग नेपालले भने गर्न सकेको छैन । अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्न २० देखि ४० अर्ब रुपियाँसम्म लाग्नसक्ने अनुमान प्राधिकरणको छ ।

स्याटेलाइटमा सामान्यतः २४ वटा सामान्य आकारका र १२ वटा साना आकारका ट्रान्सपोन्डर रहने प्राधिकरणले जनाएको छ। नेपालले अहिले टेलिभिजन प्रसारणका लागि स्याटेलाइट सेवा लिएबापत विदेशी स्याटेलाइट कम्पनीलाई ठूलो रकम तिर्नुपर्ने अवस्था छ । गोरखापत्र

यो पनि हेर्नुस्-

नेपालको आफ्नै स्याटेलाइट चालु आवभित्रै राख्ने तयारी, प्राधिकरणको छुट्यायो ७० करोड रुपैयाँ बजेट

TK Viber

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

Loading...