दोस्रो त्रैमासमा कियाको नाफा १० गुणाले वृद्धि

Technology Khabar ९ श्रावण २०७८, शनिबार

दोस्रो त्रैमासमा कियाको नाफा १० गुणाले वृद्धि

काठमाडौं ।

दक्षिण कोरियाली अटोमोबाइल ब्रान्ड कियाले दोस्रो त्रैमासमा १ अर्ब २८ करोड ५४ लाख डलर नाफा गरेको छ।

यो आँकडा गत वर्षको सोही अवधिको भन्दा ९२४.५ प्रतिशतले बढी हो।

यो अवधिमा कम्पनीको समग्र बिक्री आँकडा भने ६१.३ प्रतिशतले बढेर १५ अर्ब ९० लाख डलरभन्दा माथि पुगेको थियो।

कम्पनीको उक्त त्रैमासको समग्र आम्दानीको वार्षिक वृद्धदर ९६३.२ प्रतिशतले अर्थात् १ अर्ब १६ करोड डलर नाघेको थियो।

कोरियाली विश्लेषकहरुका अनुसार उक्त अवधिमा कम्पनीको सञ्चालन खर्च १ अर्ब करोड हाराहारी थियो। कोरोना महामारी घट्दै गएर अटोमोबाइलको माग बढ्दै गएकाले आफ्नो आम्दानी यसरी वृद्धि भएको कियाको भनाइ छ।

यसबाहेक नयाँ मोडलका कारहरुको बिक्री बढेकाले पनि यो आँकडालाई थप सहयोग पुर्याएको देखिन्छ। कियाले अब यो वर्षको उत्तरार्द्धमा स्पोर्टेज र ईभी६ मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

यसका साथै सोरेन्टो र कार्निभलजस्ता नाफामूलक मोडलहरुको बिक्री बढाउने पनि योजनामा छ। तर विश्वव्यापी चिप अभावको असर बिस्तारै घट्दै गए पनि तेस्रो त्रैमाससम्म असर गरिरहने हुनाले स्थिति सहज हुन अझै समय लाग्ने कम्पनीको बुझाइ छ।

दोस्रो त्रैमासमा कियाले दक्षिण कोरियामा मात्रै ७ लाख ५४ हजार ११७ ओटा सवारी बेचेको थियो जुन अघिल्लो वर्षको तुलनामा ४६.१ प्रतिशतले बढी हो। यसको विश्वव्यापी आँकडा भने उक्त अवधिमा ६ लाख ५ हजार ८०८ थियो र यो पनि अघिल्लो वर्षको तुलनामा ७०.९ प्रतिशतको वृद्धि थियो।

easy care

प्रकाशित: ९ श्रावण २०७८, शनिबार