अनलाइनबाटै सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण गर्न सकिने, नागरिक एपमा पनि सुबिधा

Technology Khabar ८ श्रावण २०७८, शुक्रबार

अनलाइनबाटै सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण गर्न सकिने, नागरिक एपमा पनि सुबिधा

काठमाडौं ।

अनलाइन प्रणाली मार्फत नै सवारी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कररराजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ।

बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको हो।

शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने, सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।

कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारिसकेको छ ।

सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

हाल यो सेवा प्रारम्भिक चरणमा बागमती प्रदेशमा मात्र संचालनमा ल्याइए पनि चाँडै नै देशभर लागू हुने प्रदेश कार्यालयले जनाएको छ । यसले यातायात कार्यलयमा हुने भीडभाडका साथै आर्थिक चलखेल समेत रोकिने यातायात कार्यालयको विश्वास रहेको छ ।

easy care

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

ताजा समाचार