होण्डा एनिभर्सरीको नाममा फिशिङ म्यासेज सेयर गरिँदै, चोरी हुनसक्छ व्यक्तिगत गोप्य जानकारीहरु

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

होण्डा एनिभर्सरीको नाममा फिशिङ म्यासेज सेयर गरिँदै, चोरी हुनसक्छ व्यक्तिगत गोप्य जानकारीहरु

पछिल्लो केहि दिनदेखि फेसबुक म्यासेन्जरमा होन्डाको एनिभर्सरी भन्दै फिशिङ लिंकसहित म्यासेज आइरहेको छ। होन्डाको स्कुटर जित्ने लोभमा प्रयोगकर्ताहरुले यसलाई धेरै नै फर्वार्ड गरिरहेका छन् । तर यसभित्र के छ भन्नेर जान्न सकेका छैनन् ।

नेपालभित्र मात्र नभई विश्वभर रहेका मानिसहरुले आफ्नो नेटवर्कमा भएका साथिहरुलाई यो म्यासेज फर्वार्ड गरेको देखिन्छ।

यसअघि अमेजन र टोयोटाले उपहार र रकम दिने भन्दै धेरै नेपालीहरुले ह्वाट्सएपलगायतका प्लेटफर्महरुमा मेसेज पठाउने गरेका थिए । अहिले भने होण्डाको फिशिङ म्यासेज आएको छ ।

सामाजिक सञ्जालमा यस्ता फिशिङ लिंकसहितका म्यासेजहरु समय समयमा भाइरल हुने गर्छन् । फिसिङमार्फत ह्याकरहरुले विभिन्न जानकारी चोर्ने र ह्याक गर्ने गरेका छन् । त्यसैले यस्ता म्यासेजलाई स्क्यामको रुपमा लिने गरिन्छ।

प्रयोगकर्तालाई विभिन्न किसिमको पुरस्कार दिने भन्दै आकर्षित गरेर तथा लोभ देखाएर डाटा चोरी गर्न फिशिङको प्रयोग गरिन्छ । त्यतिमात्र नभई यसबाट सिस्टम ह्याक गर्नका लागि समेत प्रयास गर्ने गरिन्छ ।

यदि तपाईलाई पनि होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका अन्य कुनै शंकास्पद फिशिङ लिंकहरू आइरहेका छन् भने त्यस्ता मेसेजहरुमा क्लिक नगर्नुहोला । तपाईँको डाटाहरु र मोबाइल ह्याक हुनसक्दछ र साइबर आक्रमणको शिकार बन्न सक्नुहुन्छ ।

फिशिङबाट कसरी बच्ने ?

फिशिङबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको त्यस्ता अपरिचित र शंकास्पद लिंक नखोल्ने वा लिंकमा क्लिक नगर्ने नै हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि केहि महिना अघि यस बारेमा सचेत गराएको थियो ।

यस्ता छन् ति सुझाबहरु:

दूरसञ्चार प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न सुझाब दिएको छ।

अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेलमा आएको लिंकहरुमा क्लिक नगर्न र नखोल्न ।

अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई तत्काल डिलिट गर्न वा ब्लक गर्न आग्रह गरेको छ ।

इमेलको जवाफ वा रेस्पोन्स नै गर्नुपरेमा ब्राउजरमा वेबसाइटको नाम टाइप गरेर मात्र गर्न ।

पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न।

आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन र सब डोमेनबाट आएका इमेलहरुलाई नखोली डिलिट गर्नुपर्छ।

अनावश्यक मेलिङ लिष्टमा सब्सक्राइब नगर्ने र सब्सक्राइब  भए अन सब्सक्राइब्ड गर्न ।

इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण नपठाउनुस् ।

कुनै पनि वेबसाइट राम्रोसँग पहिचान नगरी युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका व्यक्तिगत पहिचान जानकारीहरु शेयर गर्नु हुँदैन् ।

प्राप्त कुनै इमेल वा वेबसाइटको बारेमा शंका लागेमा सम्बन्धित संस्थामा फोन सम्पर्क वा इमेल पठाउने व्यक्तिको बारेमा जानकारी लिएर मात्र पठाउनुपर्छ ।

कम्प्युटर तथा मोबाइलमा एन्टिभाइरस प्रयोग गर्नुपर्छ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

Loading...