राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकका सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र इमेल

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकका सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र इमेल

काठमाडौं ।

आफूलाई ह्याकर बताउने एक समुहले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाउँदै धम्की दिएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल सहितका अधिकारीलाई यस्तो म्यासेज पठाइएको हो ।

आफूलाई ह्याकर बताउने समुहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नियमन विभाग प्रमुख ढकालले उल्लेख गरेका छन् ।

उनकाअनुसार नेपाल राष्ट्र बैंकको र बैंकहरुको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित छ र ह्याक भएको छैन् ।

यसरी म्यासेज पठाउने को हो र किन पठायो भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए । तर, कसले पठाएको हो भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले आफूलाई ह्याकरको फोन आएको जानकारी दिएका छन्।

‘मेरो मोबाइलमा शंकास्पद फोन आएको थियो, फोन गर्नेको नम्बर देखिएको थिएन, रेड अलर्ट सहितको फोन भएकोले मैले उठाइनँ,’ पोखरेलले भनेका छन् ।

कसैले धम्क्याउने प्रयोजनको लागि पनि यस्तो हर्कत गरेको पनि हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरुको अनुमान छ।

ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ ।

आफूले पठाएको सन्देशलाई हलुका रुपमा नलिन ह्याकरले चेतावनी दिएको छ ।

बिजमाण्डुले प्रकाशित गरेको इमेल हेर्दा रसियाबाट इमेल आएको देखिन्छ । यो रसियामा आधारित रहेर सेवा सञ्चालन गरिरहेको यान्डेक्सको सर्च इन्जिन तथा इमेल सेवा प्रदायक हो । यसलाई रसियालगायतका क्षेत्रका गुगल भनेर चिनिन्छ।

ठूलो आक्रमणको क्षति रोक्न चाहने हो भने बिहीबारदेखि सबै बैंक शाखा ४८ घण्टासम्म बन्द राख्न चेतावनी दिइएको छ । अन्यथा २४ घण्टाभित्र एमआईसीआर तथा ईसीआर सिस्टम लगायत अन्य अनलाइन एवम् अफलाईन कारोबार ‘कम्प्रोमाइज्ड’ गर्ने धम्की दिइएको छ।

यो कम्पनीले रसियासहित युक्रेन, टर्की, उज्वेकिस्तानलगायतका क्षेत्रमा काम गर्ने गर्दछ। तर यान्डेक्समा विश्वभरबाट इमेल लगायतका सेवाहरु लिन सकिन्छ ।

विश्वभर रसियामा आधारित भएर सेवा तथा कम्पनीहरुमा ह्याक गर्ने वा र्यान्समवेयर आक्रमण हुने गरेको छ। केहि समयअघि अमेरिकी कम्पनीहरुमा पनि रसियामा आधारित ह्याकरको समूहले ह्याक गरेको आरोप लगाईएको थियो।

easy care

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार