बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
सांकेतिक

विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण घाम नलाग्दा बझाङका टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको छ।

सोलारको विकल्पमा जेनेरेटर राखिएका स्थान सदरमुकाम चैनपुर र बाताको टावरबाट टेलिफोन सेवा सञ्चालन भइरहे पनि बझाङका अन्य २० वटा भन्दा बढी टेलिफोन टावरबाट विस्तार गरिएको नेटवर्कको सोलारमा चार्ज नभएपछि अवरुद्ध भएको छ।

खप्तड छान्ना गाउँपालिकालगायत त्यस आसपासका क्षेत्रहरूलाई लक्षित गरेर चौका र गडरायको डाँडामा टेलिकमको टावर राखिएको भए तापनि त्यहाँ जडान गरिएका सोलार केही दिनयता चार्ज नहुँदा त्यस क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

खप्तड छान्ना गाउँपालिका–४ का ईश्वर रोकायाले भने, ‘केही दिनदेखि यस क्षेत्रका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाले टेलिफोन गर्न निकै समस्या भएको छ ।’

खप्तड छान्ना जस्तै बित्थडचिर गाउँपालिकालगायत बुङंगल नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, साइपाल, दुर्गाथली र छबीस पाथिभेरा गाउँपालिकामा पनि टेलिफोन सेवा पूर्णरूपले विच्छेद भएको बुझिएको छ ।

टेलिफोन तथा इन्टरनेट सेवा नहुँदा व्यक्तिगत र कार्यालय प्रयोजनमा समेत बाधा पुगेको छ । नेपाल टेलिकमले बझाङका ग्रामीण भेगमा जीएसएम र सीडीएमए सेवा विस्तार गरेको थियो ।

सदरमुकाम चैनपुरमा रहेको टावर र बातालेकमा रहेको टावरमा जेनेटर हुँदा टेलिफोन नेटवर्कलाई सिस्टममा ल्याउन सजिलो भएको बताउँदै नेपाल टेलिकम शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले भने, ‘अन्य टावरमा सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुनेगगरेको छ ।

बझाङ जिल्लामा नेपाल टेलिकमलगायत अन्य कम्पनीका झण्डै २५ वटाभन्दा बढी टेलिफोन टावर रहेका छन् । गोरखापत्र

TK Viber

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

Loading...