
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट राख्नका लागि चालु आवको बजेटमा रकम छुट्याएको छ । प्राधिकरणले हालै पारित गरेको बजेटअनुसार स्याटेलाइट स्थापनाका लागि कुल ७० करोड रुपैयाँ बिनियोजन गरेको हो ।
प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन नियमहरु तथा रणनैतिक योजनाहरु तयार गर्ने एवं स्याटेलाइट स्थापना, संचालन एवं ब्यबस्थापन सम्बन्धमा आवश्यक कार्य गर्ने र गराउने उल्लेख छ । यसको लागि कुल २० करोड रुपैयाँ छुट्याएको छ ।
सो स्याटेलाइट स्थापना गर्ने कार्यक्रम अघिल्लो वर्षकै निरन्तरता भएको भन्दै यसले नेपालको आफ्नै स्याटेलाइट स्थापना हुनको लागि आवश्यक कार्यविधि, संचालन मोडालिटी तथा आवश्यक कानुनी नीति तयार हुने बताईएको छ।
जसअनुसार पहिलो चौमासिकमा परामर्शदाताबाट Inception प्रतिवेदन प्राप्त गर्नका लागि २ करोड रुपैयाँ छुट्याईएको छ भने परामर्शदाता बाट प्राप्त हुने मस्यौदा प्रतिवेदनका लागि ८ करोड रुपैयाँ र परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त हुने गरि १० करोड रुपैयाँ चौमासिकरुपमा छुट्याईएको छ ।
त्यसैगरि नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने गरि ग्रामीण दूरसञ्चार विकास कोषतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । जसअनुसार चालु आवमा नै स्याटेलाइट लन्चिङ्ग गर्ने र ग्राउण्ड स्टेशन स्थापनाको लागि बोलपत्र प्रकाशन गर्ने कार्यमा २० करोड रुपैयाँ राखिएको छ ।
यसका साथै स्याटेलाइट लन्चिङ्ग गर्ने र ग्राउण्ड स्टेशन स्थापनाको लागि लागि योग्य संस्था छनौट गर्नका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रकाशित: ३ श्रावण २०७८, आईतवार