आजदेखि शुरु भएको एमडिएमएसले के तपाईँको मोबाइल बन्द हुन्छ ? प्रयोगकर्ताले गर्नुपर्ने विषय हेर्नुहोस्

Technology Khabar १ श्रावण २०७८, शुक्रबार

आजदेखि शुरु भएको एमडिएमएसले के तपाईँको मोबाइल बन्द हुन्छ ? प्रयोगकर्ताले गर्नुपर्ने विषय हेर्नुहोस्

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि औपचारिकरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको छ ।

यसअघि आईएमईआई दर्ता प्रकृया मात्र गरिरहेको प्राधिकरणले आजदेखि भने पूर्ण प्रणाली नै सञ्चालनमा ल्याएको हो । यसमा फोनहरुको दर्ता केन्द्रिकृत प्रणालीमा हुनेछ।

यो एमडिएमएस भनेको के हो र यसले के काम गर्दछ भन्ने बारेमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)?

करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ ।

यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ ।

यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ ।

यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ । जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ । ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन् ।

त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहनेछन् ।

सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ।

हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणको भनाई छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सिस्टम सञ्चालनमा ल्याएपनि पूर्णरुपमा काम गर्न भने करिब ६ महिना लाग्ने जनाएकोछ । सो समयसम्म नेपालमा हाल सञ्चालनमा रहेका सबै मोबाइल सेटहरु कुनै बाधा अवरोध सञ्चालनमा आउनेछन भने त्यसपछि पनि दर्ता गर्ने समय तोकिनेछ ।

मोबाइल प्रयोगकर्ताले के गर्ने ?

  • मोबाइल प्रयोगकर्ताले यो सिस्टममा आफैंले केहि गर्नुपर्दैन्।
  • नेपालभित्र मोबाइल किन्नु भएको हो भने भ्याट बिल लिएर नेपालभित्र आईएमईआई दर्ता भएको फोन मात्र किन्नुहोस् । फोन किन्दा पसलेलाई सोध्नुहोस् ।
  • विदेशबाट आउँदा ल्याएका फोनहरु छन ती दर्ता नभएका हुन्छन् । त्यसैले त्यसलाई व्यक्तिगतरुपमा आवश्यक कागजातसहित दर्ता गर्नुहोस् । यसको लागि प्राधिकरणको वेबसाइटबाट गएर अनलाइनबाटै यहाँ https://eir.nta.gov.np/individual/register आईएमईआई दर्ता गर्न सकिनेछ ।
  • बजारमा अवैधरुपमा आएका अनधिकृत र चोरीका मोबाइल फोनहरु नकिन्नुहोस् ।

आयातकर्ताहरु र मोबाइल बिक्रेताहरुले के गर्ने ?

  • मोबाइल फोन आयातकर्ताहरुले यो सिस्टममा आफूले आयात गर्ने फोनहरुको आईएमईआई दर्ता गर्नुपर्नेछ । पहिलेको सिस्टममा दर्ता गरिहेकोमा अब भने उनिहरुको आईएमईआई दर्ता स्वत एमडिएमएसमा हुनेछ ।
  • आयातकर्ताहरुले आधिकारिकरुपमा मात्र मोबाइल आयात गर्ने ।
  • मोबाइल बिक्रेताहरुले ग्राहकहरुलाई नेपालमा दर्ता भएका र भन्सार तिरेर भित्रिएका फोनहरु मात्र बिक्री गर्ने ।
  • भ्याट बिल दिएर मात्र कारोबार गर्ने ।
  • अवैध र अनधिकृत मोबाइलहरुको दर्ता नहुने हुँदा त्यसबारेमा ग्राहकहरुलाई जानकारी दिने ।

प्रणालीले गर्ने फाईदा

  • अवैध मोबाइलको कारोबार नियन्त्रण हुनेछ।
  • सरकारलाई मोबाइल कारोबारबाट अधिक राजस्व आम्दानी हुनेछ।
  • देशभित्रै पनि प्रयोगकर्ताहरुको चोरी भएका फोनहरुको कारोबार र गतिबिधि रोक्न सकिनेछ।
  • हराएका फोनहरु सिस्टममा हुनेहुँदा त्यस्ता फोनहरु छिटो भेटिने संभावना हुनेछ।

प्रणालीले गर्नसक्ने बेफाईदा

  • सरकार र मोबाइल व्यवसायीलाई राजस्व र आम्दानीमा उच्च लाभ भएपनि बजारमा ‘सेकेण्ड ह्याण्ड’ मोबाइलको कारोबार प्रभावित हुन सक्नेछ ।
  • नेपालीहरुको प्रति व्यक्ति आय न्यून भएको हुँदा उनीहरुले अहिलेको जस्तो भन्सार छलेर ल्याएका सस्ता मोबाइल सेटहरुको खरिद गर्न सक्नेछैनन्। जसले गर्दा उनीहरुको व्यक्तिगत खर्च लागत अस्वभाविकरुपमा बढ्न सक्छ।
  • मोबाइल बजारमा व्यवसायीहरुले अहिलेको भन्दा अत्यधिक नाफा मार्जिन राखेर मोबाइल बिक्री गर्न सक्ने संभावना हुनसक्छ। जसले मोबाइलको मूल्य बढाउन सक्छ।
  • मोबाइल बजारमा सिमित कम्पनीहरु वा व्यवसायीहरुको एकाधिकार हुनसक्ने संभावना रहन्छ।

यो  पनि हेर्नुहोस् –

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने

easy care

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार