पर्यटन प्रवर्द्धनका लागि डिजिटल मार्केटिङमा जोड

Technology Khabar २३ असार २०७८, बुधबार

पर्यटन प्रवर्द्धनका लागि डिजिटल मार्केटिङमा जोड

काठमाडौं ।

पर्यटन व्यवसायीहरुले नेपालको पर्यटनलाई पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्।

उनीहरुले कोभिडको कारण तत्काल अन्तरराष्ट्रिय पर्यटकहरु आउने सम्भावना कम रहेकोले भोलीको तयारी स्वरुप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्।

आव २०७८/७९ को बजेटका सन्दर्भमा बोर्डले सोमबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै व्यवसायीहरुले बाह्य क्षेत्रमा नेपालको पर्यटकीय गतिविधिबारे जानकारी गराइराख्नु पर्ने बताए।

उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानु पर्नेमा पनि जोड दिए।

कार्यक्रममा नेपाल वायुसेवा निगमका निर्देशक जनक रुपाखेतिले डिजिटल मार्केटिङसँगसँगै अन्तरराष्ट्रिय कनेक्टिभिटिमा जोड दिन आवश्यक रहेको बताए।

यस्तै टर्किस एअरलायन्सका नेपाल कार्यालयका जनरल म्यानेजर अबदुल्ला टंसरले छिटो छिटो हुने स्वास्थ्य मापदण्डको फेरबदल र सिमित उडानले यतिबेला कम पर्यटक आएको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा नेपाल खुला छ भन्ने सन्देस दिने गरी आगामी कार्यक्रम आउनु पर्ने बताए।

यस्तै एभिया क्लव नेपालका सञ्चालक नताशा श्रेष्ठले अहिले पनि बाह्य पर्यटक नेपाल आउन चाहेपनि महँगो भाडादर र आएपछिका मापदण्डका कारण पर्यटक आउन नसककेको जानकारी दिँदे त्यसलाई सहजिकरण गर्नु पर्ने बताइन्।

सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पाले लकडाउन केही खुकुलो हुँदा पर्यतीय पर्यटनमा केही आशा जागेपनि पछिल्लो लकडाउने समस्या पारेको उल्लेख गर्दै दुवै डोज खोप लगाएर आएका तथा पिसिआर गरेर आएका पर्यटकहरुलाई सहज हुने गरी कार्यक्रम ल्याउनु पर्ने धारणा राखे।

अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले यो वर्ष डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन नै बोर्डको प्राथमिकतामा रहेको बताउँदै जानकारी दिँदै बोर्ड स्रोत ब्यवस्थापनमा लागिरहको जानकारी दिए।

उनले व्यवसायीहरका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारको लागि पहल गर्ने बताए।

कार्यक्रममा पर्यटन बोर्डका पम्फा पौडेल धमलाले सिमित स्रोत साधनबाट अधिकतम र प्रभावकारी ढंगले काम गर्ने गरी बोर्डले तयारी गरिरहेको र सरोकारवाला निकायहरसँग समन्वय गरिरहेको बताइन।

easy care

प्रकाशित: २३ असार २०७८, बुधबार