स्टार्टअपमा आधारित उद्योग तथा संस्थाहरुलाई पुरस्कृत गर्दै उद्योग मन्त्रालय

  • Technology Khabar | १६ असार २०७८, बुधबार
स्टार्टअपमा आधारित उद्योग तथा संस्थाहरुलाई पुरस्कृत गर्दै उद्योग मन्त्रालय

काठमाडौं ।

-अनुज राज

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) मा आधारित उद्योग तथा संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ मा कुनैपनि स्टार्टअपहरु स्थापना भई कार्य गरेको र तोकिएको मापदण्डमा परेको अवस्थामा उनीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो।

यसको लागि ‘नेपालभित्रै सुधारिएको अथवा भिन्न वस्तुको उत्पादन गरेको नविन किसिमको सेवा प्रदान गरेको /उत्पादन प्रकृया नै पुर्ण वा आंशिक रुपमा नेपालभित्रै अनुसन्धान गरि नविनतम उत्पादन प्रकृया तयार गरेको/उद्योगमा हुने उत्पादन प्रकृयामा नेपालभित्रै कुनै किसिमले परिवर्तन गरि उत्पादकत्व वृद्धि गरि उत्पादन गरेको हुनुपर्ने,’ प्रावधान तोकिएको छ।

त्यसैगरि हाल स्टार्टअपमा विषय विज्ञ जनशक्ति कार्यरत हुनुपर्ने प्रावधान समेत तोकिएको छ । प्रचलित नेपाल कानुन बमोजिम नेपाल भित्र लघु, घरेलु, साना तथा मझौला उद्योगको रुपमा दर्ता गरेको हुनुपर्नेछ।

यसका साथै स्टार्टअप उद्योग हाल सञ्चालनमा रहेको हुनुपर्ने र स्थायी लेखा नम्बर लिएको हुनुपर्ने प्रावधान तोकिएको छ।

मन्त्रालयकाो औद्योगिक पूर्वाधार शाखाकी उपसचिव शान्ता नेपाल मरासनीले स्टार्टअपहरुलाई प्रबद्र्धन गर्नका लागि नयाँ कार्यक्रम मन्त्रालयले ल्याएको जानकारी दिईन् ।

‘मन्त्रालयले चालु आवदेखि पहिलो पटक यो कार्यक्रम ल्याएको हो । देशभित्रै स्टार्टअपहरुलाई यसले प्रबद्र्धन र सहयोग पुर्याउने छ,’ उनले टेक्नोलोजीखबरसँग भनिन् ।

उपसचिव मरासनीकाअनुसार देश भित्रै कुनै आविश्कार गरेको, कुनै नयाँ र फरक प्रविधि विकास गरेको, नयाँ किसिमको उद्योग स्थापना गरेको, नयाँ ज्ञान, सिप लगायत उपयोग गरेको लगायतले यसमा सहभागी हुन सक्नेछन्।

यस्ता स्टर्टअप उद्यमी/संस्थाहरुले आवश्यक न्यूनतम योग्यता पुरा गरेर मन्त्रालयमा आवेदन दिनसक्ने छन् । जसमा उद्योग तथा संस्थाहरुले आफूले गरिरहेको नवप्रवर्तनकारी कार्य वा उद्योगको बारेमा बिस्तृतमा प्रस्ताव पेश गर्नुपर्नेछ।

सो प्रस्तावको आधारमा सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योग संचालन गरिरहेका उद्यमी (फर्म वा कम्पनी) हरुलाई कदर र सम्मान गरी थप प्रोत्साहन गर्ने जनाएको छ।

त्यसैगरि नेपालभित्र सुरुवात गरेको कार्यहरुको बिबरण दिनुपर्नेछ भने उद्योगमा कार्यरत वित्तीय प्राविधिक जनशक्तिको क्षमता, हालको वित्तीय स्रोत र लगानीको बिबरण खुलाउनुपर्नेछ । उद्योगको विकास तथा स्तरोन्नतीको लागि अनुसन्धान तथा खोजमुलक कार्यमा गरेको लगानी र नयाँ प्रविधिमा गरेको लगानीको बिबरणहरु पेश गर्नुपर्ने हुन्छ ।

यसका साथमा पछिल्लो ५ आवमा उत्पादन गरेको नयाँ वा सुधारिएको वस्तु वा प्रवाह गरेको नयाँ वा सुधारिएको सेवाको बारेमा समेत बिस्तृत जानकारी दिनुपर्नेछ ।

उपसचिव मरासनीले पुरस्कार र सम्मान दिने उद्योगहरुको संख्या निश्चित नभएको र त्यस बारे पछि तय हुने जानकारी दिईन् । मन्त्रालयले चालु आवमा असार मसान्त भित्रै त्यस्ता स्टार्टअपहरुलाई सम्मान गर्नेछ।

यसको लागि असार २३ गतेभित्र मन्त्रालयको इमेल ठेगाना [email protected] मा फर्म्याटअनुसार बिबरण भरेर प्रस्ताव पठाउन सकिनेछ वा मन्त्रालयमा नै समेत बुझाउन सकिने छ । त्यस्ता आएका प्रस्तावहरु असार २४ गते खोलिने छ र सोही प्रस्तावहरुको आधारमा पुरस्कृत गरिने उद्योग वा संस्था छनौट गरिने मन्त्रालयले जानकारी दिएको छ।

आगामी आवमा पनि मन्त्रालयले यस्तै नवप्रवर्तनकारी उद्यमी/संस्थालाई पुरस्कृत गर्ने योजना लिएको जनाएको छ ।

combinepdf (1)

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार