नेपाल टेलिकमको दूरसञ्चार सेवामा देखिएको समस्या समाधान, अनुसन्धान समिति गठन गरिने

Technology Khabar ९ असार २०७८, बुधबार

नेपाल टेलिकमको दूरसञ्चार सेवामा देखिएको समस्या समाधान, अनुसन्धान समिति गठन गरिने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको सेवामा आएको समस्या हालका लागि समाधान भएको छ । करिब अढाई घण्टामा सेवामा देखिएको समस्या समाधान भएको हो । देशभर देखिएको समस्या हाल समाधान भएको र त्यसमा थप अनुसन्धान गरिने टेलिकमले जानकारी दिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रारम्भिक अनुसन्धानमा ग्राहकको लोकेसन अपडेटलाई नेटवर्कले पहिचान नगरेको देखिएको बताए ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानमा कस्टमरको लोकेसन पहिचान गर्न सिस्टमलाई समस्या भएको देखिएको छ । लोकेसन प्रत्येक समय सिस्टमले अपडेट गरेपछि मात्र कललाई सम्बन्धिन नम्बरमा फरवार्ड गर्दछ । तर सो लोकेसन नै पहिचान भएन् । प्राविधिकरुमा ‘एचएलआर’ भनिने कोर नेटवर्कभित्र समस्या देखिएको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनकाअनुसार यसको बिस्तृत अनुसन्धान गर्न समिति नै गठन गरेर छानबिन गरिनेछ । यसको लागि कम्पनीले अहिले नै समिति गठन गर्न छलफल गरिरहेको र सो समितिले समस्या आउनुको कारण बिस्तृतमा पत्ता लगाएर प्रतिवेदन दिने उनले जानकारी दिए ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार देशभरका सेवाग्राहीहरुकोमा समस्या देखिएपछि विभिन्न स्थान र ग्राहकहरुअनुसार फरक फरक समस्या देखिएको थियो ।

यसअघि नेपाल टेलिकमको सेवामा समस्या आएको थियो । आज बिहानदेखि फोन नचल्ने तथा सम्पर्क नै नहुने समस्या आएको हो ।

कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुबैमा समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ ।

यस बारेमा जान्न कम्पनीका अधिकारीहरुसँग सम्पर्क गर्न खोज्दासमेत सकेनौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले सो बारेमा टेलिकमसँग जानकारी मागेको बताए ।

‘मैलेपनि यस बारेमा अनुभव गरेको छु । टेलिकमलाई सोधेका छौं के भएको भनेर । उनीहरुले हेर्दै गरेको जानकारी दिएका छन्,’ अध्यक्ष खनालले भने ।

नेपाल टेलिकमको भ्वाइस सेवामा समस्या देखिएपनि इन्टरनेट सेवा भने सुचारु रहेको देखिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्राविधिक समस्या देखिँदा सेवा अवरुद्ध भएको र समाधान गर्ने काम गरिरहेको बताए ।

‘आज करिब पौने सात बजेदेखि यस्तो समस्या आएको हो । ग्राहकको लोकेसन पत्ता लगाउने प्रविधिमा समस्या देखिँदा यस्तो भएको हो । हाम्रा प्राविधिकहरुले काम गरिरहेका छन् । केहि समयमा ठिक हुन्छ,’ प्रबन्ध निर्देशक अधिकारीले ह्वाट्सएपमार्फत टेक्नोलोजीखबरसँग भने।*

लोकेसन पहिचान गर्ने सिस्टम अपडेटमा समस्या आउँदा ग्राहकको नेटवर्क पहिचान गर्न नसक्ने हुँदा सेवा अवरुद्ध भएको स्पष्ट पारे । उनले केहि स्थानमा ल्याण्डलाइन सेवा चलिरहेको बताए ।*

यसबारेमा हामीलाई थप जानकारी प्राप्त हुनासाथ अपडेट गर्नेछौं।

*समाचार र हेडलाइन अपडेट तथा सम्पादन गरिएको ।

easy care

प्रकाशित: ९ असार २०७८, बुधबार