एनसेलले भुक्तानी सेवा प्रदायकको अनुमति नै नलिएको स्पष्ट, आर्थिक सर्वेक्षणको बिबरण भ्रामक

Technology Khabar ७ असार २०७८, सोमबार

एनसेलले भुक्तानी सेवा प्रदायकको अनुमति नै नलिएको स्पष्ट, आर्थिक सर्वेक्षणको बिबरण भ्रामक
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति दिएको भनेर चालु आवको आर्थिक सर्वेक्षणमा प्रकाशित बिबरण गलत भएको देखिएको छ ।

अर्थमन्त्रालयले प्रकाशित गरेको र अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार एनसेलको कुनै सहायक कम्पनीले हालसम्म त्यस्तो सेवा नलिएको र सहायक कम्पनी नै नभएको एनसेलले स्पष्ट पारेको छ ।

यसबारेमा एनसेल आजियाटा लिमिटेडले आफूहरुसँग आबद्ध कुनै सहायक कम्पनी नभएको र त्यस्तो कम्पनीले भुक्तानी सेवा प्रदायकको अनुमति पाएको जानकारी र समाचार नै गलत भएको दाबी गरेको हो ।

एनसेल आजियाटाले आफ्नो कुनै त्यस्तो सहायक कम्पनी नभएको र अहिलेसम्म अनुमति नै नपाएको स्पष्ट पारेको छ । कम्पनीले सो बारेमा सरकारले कसरी त्यस्तो बिबरण राखेको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको उल्लेख गरेको छ ।

‘सन् २०१६ देखि भुक्तानी सेवाको काम गर्न कम्पनी उत्सुकताका साथ सम्भावना हेरिरहेको तर अन्य व्यवसायीक प्राथमिकताका त्यस सम्बन्धमा कुनै निर्णय लिएको छैन् । एनसेलले भुक्तानी सेवा प्रदायकको लागि अनुमति पाएको भन्ने समाचार गलत छ,’ एनसेल आजियाटाले भनेको छ ।

यसअघि एनसेलले २५ साउन २०७६* मा नै भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न चाहेको र सोहिअनुसार प्रबन्धपत्रमा संसोधन गर्ने तयारी गरेको थियो । सो बारेमा प्रकृया नै अगाडी बढ्न सकेको थिएन् । भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न त्यस बेला स्पष्टता नपाएको भन्दै लामो समय लागेको एनसेलले उल्लेख गरेकोछ ।

त्यसबेला नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंक बिच २०७६ बैशाख ८ गते मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न समझदारी भएको थियो ।

त्यसपछि पनि कम्पनीले २०७६ सालमा नेपाल दूरसञ्चार प्राधिकरणले सहायक कम्पनी स्थापना गरि सेवा सञ्चालन गर्न नो अब्सेक्सन लेटर दिएको भन्दै त्यसबेला नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि मात्र सो सेवा सञ्चालन गर्न पाईने शर्त राखिएको कम्पनीले स्पष्ट पारेको छ ।

सो अनुसार कम्पनीले हालसम्म कुनै अनुमति नपाएको र सो बारेमा आफ्नो कुनै सहायक कम्पनी समेत नभएको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणमा राखिएको सो तथ्यांकको बारेमा आफूहरुलाई थाहा नभएको र सरकारी बिबरणमा सो विषय जानकारी बिना नै गलत तरिकाले परेको हुनसक्ने आशंका गरे ।

‘नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनीलाई अनुमति दिएको जानकारी नै छ । अनुमति भन्दा बाहिरका अन्य कम्पनी बारे थाहा छैन् । कसरी त्यो तथ्यांक आयो थाहा भएन्,’ उनले भने ।*

सम्बद्ध समाचार-

टेलिकम र एनसेलका सहायक कम्पनी खोल्न प्राधिकरणद्धारा स्वीकृती, मोबाइल वित्तीय सेवा दिने

यस बारेमा सोध्दा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि एनसेललाई वा त्यसको कुनै सहायक कम्पनीले अनुमति नपाएको जानकारी दिए ।

‘मेरो जानकारीमा भएअनुसार एनसेललाई वा उसको कम्पनीलाई त्यस्तो कुनै भुक्तानी सेवा प्रदायकको अनुमति दिएको अवस्था थाहा छैन्,’ भुक्तानी प्रणाली विभाग प्रमुख कँडेलले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार गत साउन महिनादेखि नै नयाँ कम्पनीहरुको लागि आवेदन लिन बन्द गरिएको र त्यसअघि पनि एनसेल वा त्यसको कुनै सहायक कम्पनीलाई अनुमति दिएको नदेखिएको बताए ।

यस आधारमा हेर्दा सरकारी तथ्यांक भ्रामक भएको देखिन्छ ।

चालु आवको सर्वेक्षणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फको बिबरणमा नेपाल टेलिकम र एनसेललाई सहायक कम्पनी स्थापना गरेर भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति दिईएको उल्लेख गरिएको छ ।

एनसेलको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति

*सच्चाईएको ।

Global Bank
easy care

प्रकाशित: ७ असार २०७८, सोमबार

ताजा समाचार