डिजिटल गण्डकी प्रदेश बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिने

Technology Khabar ३१ जेष्ठ २०७८, सोमबार

डिजिटल गण्डकी प्रदेश बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिने

गण्डकी प्रदेशले सूचना प्रविधिलाई प्राथमिकता दिनका लागि विद्युतीय शासन प्रणालीको गुरुयोजना कार्यान्वयन गर्ने भएको छ । त्यसैगरि डिजिटल गण्डकी प्रदेश निर्माणमा योगदान गर्न वित्तीय पहुँच बिस्तार र विद्युतीय भुक्तानी प्रणाली प्रोत्साहन गर्ने भएको छ ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज प्रदेश सभा सञ्चालन भइरहेको पोखरा सभागृहमा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन । उनले प्रदेशमा सार्वजनिक सेवा प्रवाहमा नागरिकको सरल र सहज पहुँच वृद्धि गर्न आधुनिक सूचना प्रविधिको प्रयोग वृद्धि गरिने घोषणा गरिन् ।

त्यसैगरि प्रदेश सरकार गठन भएपश्चात सिर्जना भएका तथा साविक संरचनाबाट हस्तान्तरण भएका सम्पूर्ण तथ्यांक तथा अभिलेखहरुलाई विद्युतीय माध्यममा अभिलेखीकरण र व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरि प्रदेशले सूचना प्रविधि पार्कको बिस्तृत आयोजना प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार निर्माणका कार्य प्रारम्भ गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रमकाअनुसार राजस्व परिचालनलाई प्रभावकारी बनाउन र अभिलेख अद्याबधिक गर्न विद्युतीय प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याईने भएको छ ।

प्रदेश स्वास्थ्य सेवामा पनि सूचना प्रविधिको प्रयोगलाई जोड दिएको छ । जसअनुसार गण्डकी प्रदेशले प्रदेश सरकार अन्तरगत संचालित अस्पतालहरुमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली र स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सुधार गरी स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने लक्ष्य लिएको छ । यसका साथै प्रदेश भित्र संचालिन एम्बुलेन्स सेवालाई जिपिएस ट्रयाकिङ्गमार्फत एकीकृत प्रणालीमा आबद्ध गरेर सञ्चालनगर्ने भएको छ ।

प्रदेश सरकारले आगामी आवमा माध्यमिक तहमा विज्ञान र गणित विषयको गुणस्तर सुधार गर्ने भएको छ भने विद्यार्थीको सिकाइमा अनलाइन माध्यमलाई प्रयोग गर्न सहयोग पुर्याउने भएको छ ।

त्यसैगरि विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यवहारिक तथा उपयोगी अध्ययन, अनुसन्धान प्रोत्साहनको लागि अनुसन्धान वृत्तिको थालनी गर्नुका साथै प्रदेशका युवालाई विज्ञान तथा प्रविधिसँग जोड्न वैज्ञानिक सम्मेलन आयोगना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि क्षेत्रमा पनि प्रविधिको प्रयोग गर्ने उद्धेश्यले गण्डकी प्रदेशले नीति तथा कार्यक्रममा नेपाल सरकारसँगको सहकार्यमा डिजिटल स्वायल म्यापिङलाई प्रदेशमा कार्यान्वयन गराउने भएको छ। यसका साथै स्थानीय तहसँगको सहकार्यमा डिजिटल प्रविधिको प्रयोग गरी कृषि सम्बन्धी सूचना तथा तथ्यांक अद्यावधिक गर्ने प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ ।

पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्न पर्यटकीय गन्तव्य, पदमार्ग र होमस्टेलाई डिजिटलाइज गरी अनलाइन पर्यटकीय सूचना प्रवाह गर्ने व्यवस्था गरिने प्रदेशको लक्ष्य रहेको छ ।

यस बाहेक यातायात व्यवस्था कार्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्युतीय चूलो, विद्युतीय सवारी साधनलाईत स्वच्छ तथा हरित उर्जा खपत वृद्धि गर्ने नीति समेत गण्डकी प्रदेशले लिएको छ।

हेर्नुस नीति तथा कार्यक्रमको पूर्ण पाठ-

16236689538864_नीति तथा कार्यक्रम २०७८-७९

 

TK Viber

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

Loading...