ट्रम्प प्रशासनले दुई डेमोक्र्याटहरुको डाटा सार्वजनिक गर्न एप्पललाई दबाब दिएको खुलासा

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

ट्रम्प प्रशासनले दुई डेमोक्र्याटहरुको डाटा सार्वजनिक गर्न एप्पललाई दबाब दिएको खुलासा

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको न्याय विभागले द न्यूयोर्क टाइम्स, सीएनएन तथा द वाशिङ्टन पोस्टका पत्रकारहरुको फोन गोप्य रुपमा रेकर्ड गर्न लगाएको तथ्य सार्वजनिक भइसकेको छ।

उनले ती पत्रकारका गोप्य स्रोतको पर्दाफास गरेर तिनलाई अझ बढी जानकारी प्रेसमा जानबाट रोक्ने दुष्प्रयास स्वरुप यसो गरेको यस अघि नै खुलिसकेको छ।  

तर हालै न्यूयोर्क टाइम्सले यसै सन्दर्भमा अर्को एउटा सनसनी खुलासा गरेको छ।

त्यतिबेला ट्रम्पले गोप्य रुपमा पत्रकारलाई मात्र नचलाएर सन् २०१७-१८ मा एप्पल कम्पनीलाई समेत हाउस अफ इन्टेलिजेन्स कमिटीका कम्तीमा दुई डेमोक्र्याट नेताहरुको गोप्य विवरण उपलब्ध गराउन दबाब दिएका थिए। उक्त कमिटीमा रहेका हालका अध्यक्ष एडम शिफ तथा प्रतिनिधि एरिक स्वालवेल लगायत थुप्रै सदस्य र उनीहरुका परिवारका सदस्यको पनि विवरण मागिएको थियो।

पत्रकारहरुजस्तै एप्पलले पनि यो तथ्यको खुलासा गत वर्ष ट्रम्प सरकारको अन्त्य हुनुअघि सार्वजनिक गर्न सकेको थिएन। हाल न्याय विभागले यसअघिका यस्ता आदेशहरुलाई प्रेससमक्ष सार्वजनिक गर्न आग्रह गरेकाले खुल्न आएको बुझिएको छ।

न्यूयोर्क टाइम्सको स्रोतका अनुसार एप्पलले त्यतिबेला मेटाडाटा मात्र उपलब्ध गराएको र फोटो इमेलमा सामग्री भने दिइएको थिएन। यसबारेमा बुझ्न खोज्दा एप्पलले भने कुनै जवाफ नदिएको द भर्जले जनाएको छ।

अघिल्लो शनिबार न्याय विभागले स्रो पत्ता लगाउने उद्देश्यले कुनै पनि पत्रकारको विवरण गोप्य तरिकाले रेकर्ड वा हासिल नगर्ने बताएको थियो।  

Global Bank
easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार