प्रविधिमार्फत योजनाहरु माग गर्दै स्थानीय तह

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

प्रविधिमार्फत योजनाहरु माग गर्दै स्थानीय तह
Classic Tech

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण भेला, बैठक, छलफल गर्न नपाएपछि काभ्रेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को योजनाहरू प्रविधिको प्रयोग गरेर छनोट सुरु गरेका छन् ।

आगामी असार १० गतेभित्र स्थानीय तहले गाउँ/नगर सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने बाध्यकारी नियम भएपछि फोन, इमेल, चिठी तथा सामाजिक सञ्जालमार्फत योजना माग गरेका हुन् ।

रोसी गाउँपालिकाले १२ वटै वडामा प्रविधिको प्रयोग गरेर योजना छनौट गरिरहेको गाउँपालिकाका अध्यक्ष डीबी लामाले जानकारी दिए । उनले वडाका जनप्रतिनिधि तथा वडा कर्मचारीमार्फत योजना छनोट भइरहेको बताए ।

रोसी गाउँपालिका–११ का वडाध्यक्ष मिलन लामाले कोरोनाका कारण भौतिक उपस्थिति भई बैठक, छलफल तथा भेला गर्ने नसकेपछि वडा, टोल तथा बस्तीमा आवश्यक भएका योजनाहरू निवेदन वा भर्चुअल माध्यमबाट पेस गर्न लगाइएको बताए । उनका अनुसार नजिक हुनेले निवेदनमार्फत वडा कार्यालयमा बुझाएका छन् भने टाढा रहेकाले फेसबुक म्यासेन्जरबाट योजना पठाएका छन् ।

पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले वडाबाट आएका एकीकृत बजेट तथा कार्यक्रमहरू सङ्कलन भइरहेको बताए । उनका अनुसार पनौती नगरपालिकाले अघिल्लै आर्थिक वर्षमा आएका योजना तर बजेट नपरेका र कम बजेटका कारण पूरा हुन नसकेका क्रमागत योजनालाई नै मुख्य महत्त्व दिएर वडाले योजना छनौट गरेर पठाएको बताए ।

त्यस्तै बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले फोन, इमेल, सामाजिक सञ्जाल र निवेदनमार्फत योजना छनौटको तयारी गरिरहेको बताए ।

काभ्रेमा रहेका अन्य स्थानीय तहले पनि विभिन्न माध्यमबाट योजना छनौट गरेको जनाएका छन् । त्यस्तै पालिकाहरूले वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न गैरसरकारी सङ्घसंस्थालाई जेठ मसान्तसम्ममा इमेलबाट आफ्ना योजना पेस गर्न अनुरोध गरेका छन् ।

स्थानीय तहले वडास्तरीय योजना तर्जुमा र प्राथमिकता निर्धारण जेठ १५ गतेभित्र गरिसक्नुपर्ने हुन्छ । कोरोनाका कारण ढिला भइरहेको स्थानीय तहले बताएका छन् । त्यस्तै जेठ मसान्तसम्ममा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ ।

आगामी असार १० गतेभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने हुन्छ । गोरखापत्रबाट

TK Viber

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

Loading...