प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, छात्राहरुलाई ल्यापटप दिईने

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, छात्राहरुलाई ल्यापटप दिईने

प्रदेश नम्बर २ ले आगामी आर्थिक वर्षमा सूचना प्रविधिमैत्री सरकार र सूचना प्रविधिमैत्री विद्यालयलाई प्राथमिकता दिएको छ । प्रदेश नम्बर २ का प्रमुख राजेश झाले आज आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ईगभर्नेन्सको अवधारणा अन्तर्गत प्रदेशका सबै काम कारबाहीमा नागरिकहरुको सहज पहुँचका लागि डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने घोषणा गरेका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार प्रदेशका विभिन्न निकायहरुबाट प्रदान गरिने सेवालाई नागरिकको सहज पहुँचको लागि नागरिक एप्ससँग आबद्ध गर्ने कार्यलाई प्राथमिकता दिईने भएको छ ।

प्रदेशमा सामाजिक रुपान्तरणका लागि शुरुवात गरिएको ‘बेटी पढाउ बेटी बचाउन’ अभियानअन्तरगत यसअघि बीमा तथा छात्रवृत्ति दिँदै आएको प्रदेश नम्बर २ सरकारले आगामी आवमा ल्यापटपसमेत प्रदान गर्न संरचनात्मक व्यवस्था गरिने भएको छ ।

प्रदेश सरकारको बेरुजु अभिलेखलाई व्यवस्थित गर्न बेरुजु फछ्र्यौट कार्ययोजना तथा अभिलेख सूचना प्रणाली लागू गरिने भएकोछ । त्यसैगरि प्रदेश सरकारको सम्पत्तिको अभिलेखीकरण गर्न प्रदेश सम्पत्ति सूचना प्रणालीको विकास गरि लागू गरिने भएको छ ।

प्रदेश नम्बर २ ले कृषि उद्यमीहरुको पहिचान तथा अभिलेखिकरणका लागि सूचना प्रविधिको प्रयोग गरी तथ्यांक उत्पादन तथा व्यवस्थापन गर्नका लागि कृषि तथ्यांक प्रणालीको विकास गर्ने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले विद्यालयहरुलाई पूर्वाधारमैत्री विद्यालय बनाउनका लागि इन्टरनेट सुबिधा सहितको पुस्तकालय स्थापनालाई निरन्तरता दिने भएको छ भने बीरगंजमा विज्ञा तथा प्रविधि विश्वविद्यालय समेत स्थापना गर्ने भएको छ।

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...