एप्पलद्वारा एयरट्यागका लागि एन्ड्रोइड एप ल्याउने संकेत, अपडेट पनि आउँदै

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

एप्पलद्वारा एयरट्यागका लागि एन्ड्रोइड एप ल्याउने संकेत, अपडेट पनि आउँदै
Classic Tech

एप्पलले एयरट्यागका लागि एन्ड्रोइड एप बनाउने बुझिएको छ। यसमा हुने नयाँ अपडेटले एप्पलको एयरट्याग ट्र्याकरमार्फत् अवाञ्छित ट्रयाकिङको समस्या घट्ने अपेक्षा गरिएको छ। समाचार संस्था सीएनबीसीका अनुसार बजारमा आएको १ महिनाकै बीचमा नयाँ फर्मवयर अपडेट आउन लागेको हो।

नयाँ अपडेटले हराएका ट्र्याकर नजिकबाट हिँड्ने बटुवा तथा हराएको ट्र्याकरको अलर्टका लागि आवाज निकाल्ने टाइम विन्डोमा पनि परिवर्तन ल्याउने भएको छ।

अपडेट अघि एयरट्याग ट्र्याकरले हराएको ३ दिनपछि मात्रै आवाज निकाल्थ्यो। यूजरले मानिसलाई ट्र्याक गरेर यसको दुरुपयोग नगरुन् भन्ने हिसाबले अब भने यसले ८ देखि २४  घण्टाभित्र आवाज निकाल्ने छ।

एप्पलका अनुसार यो परिवर्तनले अवाञ्छित ट्र्याकिङलाई निरुत्साहित गर्नेछ। यदि अनावश्यक एयरट्याग भेटिएमा भेट्ने व्यक्तिले आईफोन वा एनएफसी डिभाइसमा ट्याप गरेर यसलाई डिसेबल गर्न सक्नेछन्।

सीनेटले जनाए अनुसार एप्पलले एयरट्याग तथा फाइन्ड माइ एसेसरिजको एन्ड्रोइडसँगको तालमेलका बारेमा केही नबताएको तर यसबारे यसै वर्षको अन्त्यतिर विस्तृत विवरण आउने जानकारी दिएको छ।

एयरट्यागका लागि फर्मवयर अपडेट बिहीबारदेखि लागू हुँदैछ। आईफोन नजिक भएका एयरट्यागमा यो फर्मवयर आफैं अपडेट हुने बुझिएको छ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...