Technology Khabar २० जेष्ठ २०७८, बिहीबार
काठमाडौं ।
-साजन सुबेदी
नेपालमा पछिल्लो १ महिनामा ११ करोड ६६ लाख ६१ हजार रुपैयाँको राउटर आयात गरिएको छ।
भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार चीनबाट २०७८ साल वैशाख महिनाभरीमा नेपालमा ३४ हजार ९४ ओटा राउटर भित्रिएका छन्। यसको मूल्य ११ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको छ।
चैत्र २०७७ साउनदेखि चैत्र मसान्तसम्म ५ लाख ८१ हजार ८६५ राउटर आयात भएकामा २०७८ वैशाख महिनामा भने ३३ हजार ६८५ थपिएर ६ लाख १५ हजार ५५० ओटा पुगेको प्रतिवेदनमा उल्लेख छ।
यसपछि लात्भियाबाट १६ लाख ९६ हजार रुपैयाँ बराबरको ७१ थान तथा भारतबाट २ लाख १७ हजार रुपैयाँ बराबरको राउटर आयात गरिएको छ।
यीबाहेक अमेरिका, जर्मनी, बेलायत, यूएई लगायत अन्य विभिन्न १५ राष्ट्रबाट १ देखि ५ ओटासम्म राउटर आयात भएका प्रतिवेदनमा उल्लेख छ।
कोरोनाका कारण वर्क फ्रम होम र अनलाईन कक्षाहरुका लागि इन्टरनेटको खपत बढ्दै जाँदा वायर्ड र वायरलेस दुवै कनेक्टिभिटीका लागि अत्यावश्यक हुने भएकाले राउटरको माग महिनैपिच्छे बढ्दै गइरहेको देखिन्छ।
पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेट सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेका छन् भने अहिले पनि कोरोनाको दोेस्रो लहरका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ।
प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार