फाइभजी टावरले कोरोना फैलाएको भन्दै भारतमा यसको विस्तार रोक्न सेलिब्रिटीद्वारा मुद्दा दायर

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

फाइभजी टावरले कोरोना फैलाएको भन्दै भारतमा यसको विस्तार रोक्न सेलिब्रिटीद्वारा मुद्दा दायर

काठमाडौं ।

फाइभजी टावरले कोरोना फैलाएको भन्दै भारतमा एक अभिनेतृले यसको विस्तार रोक्न मुद्दा दायर गरेकी छिन्।

भारतमा तीव्र गतिमा फाइभजीको विस्तार कार्य हुँदैछ। यसैक्रममा थुप्रै संस्था र व्यक्तिहरुको बुझाइ फाइभजी सुरक्षित नभएको र यसले विभिन्न रोग फैलाउने र हाल विश्वमा कोरोना फैलनुको मुख्य कार्ण पनि यही भएको विचार व्यक्त गरिरहेका छन्।

हालै यही विषयमा अभिनेतृ जुही चावलाले जनस्वास्थ्यमा गम्भीर असर परेको र यसको विस्तार तत्काल रोक्नुपर्ने माग सहित मुद्दा दायर गरेकी छिन्।

इन्डियन एक्सप्रेसका अनुसार वातावरण अभियन्तासमेत रहेकी चावलाले मुद्दा दर्ता गरेपछि आफू प्रविधिको विकासका बाधन नभएको बरु आफैंले वायरलेस पद्धतिलगायतका अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताइन्।

तर उनले पछिल्ला नयाँ प्रविधिको प्रयोग गर्ने क्रममा आफ्ना अध्ययन र अनुसन्धानले वायरलेस प्रविधिमा प्रयोग हुने डिभाइस र मोबाइल टावरहरुबाट आउने आरएफ रेडियशन मानव स्वास्थ्य र सुरक्षाका लागि घातक भएको प्रमाणहरु भेटिएकाले आफूहरु यस विरुद्धमा लाग्नुपरेको बताइन्।

चावलका प्रवक्ताले उजुरीमा सम्बन्धित निकायलाई फाइभजी प्रविधि मानव तथा जीवजन्तुको स्वास्थ्यका लागि पूर्णत: सुरक्षसत रहेको प्रामाणिक गर्न पनि आग्रह गरिएको बताए। यसबाहेक फाइभजीको कार्यान्वयन अहिले र आगामी दिनहरुमा पनि सुरक्षित छ भन्ने प्रमाणित गर्न अध्ययन गरियोस् भन्ने माग पनि राखिएको छ।

सेलिब्रिटी संलग्न संस्थाले यस्तो प्रचार गरेपछि भारतका कतिपय ठाउँका स्थानीयहरुमा यसको प्रभाव परेको छ।

फाइभजी परीक्षणका कारण कोरोनाको दोस्रो लहरले तीव्रता पाएको अफवाहहरुमा मानिसहरुले विश्वास गर्ने क्रम बढेको बताइएको छ। यो अफवाह अहिले भारतका उत्तर प्रदेश, पञ्जाब, हरियाणा जस्ता ठाउँमा बढी फैलिएको इन्डियन एक्सप्रेसले लेखेको छ। कतिपय ठाउँमा त मानिसहरुले फाइभजी टावर नै क्षतिग्रस्त बनाएका छन्।

एजेन्सीका साथमा

Global Bank
easy care

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

ताजा समाचार