सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा शुरु, मासिक ९सय ९९ रुपैयाँमा १२० एमबीपीएसको स्पीड

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा शुरु, मासिक ९सय ९९ रुपैयाँमा १२० एमबीपीएसको स्पीड
Classic Tech

चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन्स लिमिटेडले काठमाडौं उपत्यकामा निश्चित क्षेत्रहरुबाट आफ्नो इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले ‘सीजी नेट’ नाममा आफ्नो सेवा शुरु गरेको हो ।

सीजी कम्युनिकेसन्सले सीजी नेट नाममा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिमा उपलब्ध गराउने दाबी गरेको छ । हाल यो सेवा ललितपुर जिल्लाको सिमित क्षेत्रमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

“तपाई स्पीडको मामिलामा जति योग्य हुनुहुन्छ सोही गतिमा आफ्नो जीवनको आनन्द लिनुहोस्” भन्ने नाराका साथमा कम्पनीले आफ्नो सेवा शुरु गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

‘स्पीड द्याट म्याटर्स’ (Speed That Matters) भन्ने मुल थिमका साथमा कम्पनीले न्यूनतम १२० एमबीपीएसको स्पीडमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । यसमा मासिक ९९९ रुपैयाँ तोकिएको छ भने वार्षिकरुपमा ११ हजार ९८८ रुपैयाँ तिर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीको भनाई छ ।

कम्पनीले निकट भविष्यमै आईपीटीभीसहितका अन्य सेवा पनि बजारमा ल्याउने जनाएको छ । आगामी दिनमा अन्य स्थानहरुमा पनि सेवा उपलब्ध गराउने जनाएको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि डिपोजिट अन्तरगत ५०० रुपैयाँ थप तिरे हुनेछ । यस बाहेक मासिक, ३ महिना र ६ महिना प्याकेज लिँदा जडान र केबल मात्र निःशुल्क हुनेछ ।

ललितपुर क्षेत्रमा सेवा बिस्तार गरेपनि कम्पनीले आफ्नो कार्यालय ट्रेड टावरमा राखेर सेवा दिने जनाएको छ ।

यसैबिच कम्पनीद्धारा जारी विज्ञप्तीमार्फत सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

“दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवाको फाइदा उठाउन सक्ने बताईएकोछ।

‘१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

Loading...