नागरिक एपमा ‘पुश नोटिफिकेसन’ को परीक्षण गरिँदै, भविश्यमा सूचनामूलक सञ्देश पठाउन सक्ने

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

नागरिक एपमा ‘पुश नोटिफिकेसन’ को परीक्षण गरिँदै, भविश्यमा सूचनामूलक सञ्देश पठाउन सक्ने
Classic Tech

सरकारले आफ्ना सबै सेवाहरु एकीकृतरुपमा प्रदान गर्नेगरि ल्याएको नागरिक एपले ‘पुश नोटिफिकेसन’को परीक्षण गरिरहेको छ ।

सरकारी सेवाहरुको प्लेटफर्ममा हालसम्म ६ लाख भन्दा धेरै प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेको सो एपमार्फत केहि दिनअघि प्रयोगकर्ताहरुलाई ‘हेलो वर्ल्ड’ भन्दै अंग्रेजीमा नोटिफिकेशन आएको छ ।

अधिकांश प्रयोगकर्ताहरुले सो एपबाट पहिलो पटक नोटिफिकेसन आएको अनुभव गरेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश प्रसाद पोखरेलले नागरिक एपमा दैनिक जसो काम भईरहने र सोहिअनुसार नयाँ परीक्षण गरिएको बताए ।

‘नागरिक एपको लागि विभिन्न सर्भरहरु रहेका छन् र डेभलपरले एउटा सर्भरमा परीक्षण गर्दा सो नोटिफिकेसन गएको हो । अहिले त्यसलाई बन्द गरिएको छ,’ उनले टेक्नोलोजीखबरसँग भने, ‘सबैलाई गएको होईन् । केहि सिमित प्रयोकर्ताहरुलाई मात्र गएको छ ।’

उनले पुश नोटिफिकेसनको पुरै काम नभएको भन्दै आगामी दिनमा एपबाटै विभिन्न सूचनामूलक जानकारीहरु सरकारले दिनसक्ने संभावना रहेको औंल्याए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तरगत सञ्चालनमा रहेको सो एपमा अहिलेसम्म ९ प्रकारका जानकारीहरु हेर्न तथा प्रमाणिकरण गर्न सकिने सुबिधा रहेको छ । आगामी दिनमा सेवाहरु थप गर्दै जाने लक्ष्य राखेको सो एप मार्फत स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक बिबरण, राहदानी, मतदाता परिचय पत्रलगायतका सुबिधाहरु छन् ।

सरकारले गएको सूचना प्रविधि दिवसको अवसर पारेर सो एपको फूल भर्सन सार्वजनिक गरिसकेको छ ।

TK Viber

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

Loading...