ब्याण्डविथ आयातमा कर घटाएको भनेर अर्थ सचिवले झुटो बोलेको सेवा प्रदायकहरुको आरोप

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

ब्याण्डविथ आयातमा कर घटाएको भनेर अर्थ सचिवले झुटो बोलेको सेवा प्रदायकहरुको आरोप
Classic Tech

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले इन्टरनेटको ब्याण्डविथ आयातमा लाग्दै आएको कर घटाएको भनेर झुट बोलेको इन्टरनेट सेवा क्षेत्रका सरोकारबाला व्यक्ति तथा निकायहरुले आरोप लगाएका छन् ।

आज भिडियो कन्फ्रेन्समार्फत सेजनद्धारा आयोजित एक कार्यक्रममा अर्थ सचिव ढुंगानाले आय कर अन्तरगत विदेशबाट ब्याण्डविथ आयातमा लाग्दै आएको १५ प्रतिशत टिडिएस शुल्क घटाएर ५ प्रतिशत बनाएको बताएका थिए ।

तर सो विषयमा अर्थ सचिवले झुटो बोलेर झुक्याएको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले बताए । उनले समाचारहरुमा अर्थ सचिवले भनेजस्तो ब्याण्डविथ आयातको करमा कुनै परिवर्तन भएको जानकारी बजेटमा र आर्थिक ऐनमा आफूहरुले नपाएको बताए ।

‘हामीले दशौं पटक नयाँ बजेट र आर्थिक ऐन पढिसकेका छौं तर ब्याण्डविथ आयातको कर छुट बारे कतै लेखिएको छैन् । अझ उहाँले भनेको जस्तो १५ प्रतिशत लाग्ने नभई १० प्रतिशत मात्र ब्याण्डविथमा आयातमा कर लाग्ने गरेको छ,’ अध्यक्ष पराजुलीले टेक्नोलोजीखबरसँग भने ।

यसमा नयाँ बजेटले कतै पछि छुट दिएको नदेखिएको र सचिवलाई गुमराहमा राखिएको उनले आशंका गरे । यस बारेमा सरकारले पछि कुनै विशेष निर्णय गर्न सक्ने हुँदा आगामी दिनमा सोहीअनुसार निर्णय हुने आशा व्यक्त गरे ।

ब्याण्डविथ आयातमा लाग्ने कर बारेमा सोध्दा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले ब्याण्डविथ आयातमा १० प्रतिशत टिडिएस सरकारले लिने गरेको जानकारी दिए ।

‘हामीलाई यस बारेमा खासै चासो हुँदैन र हामीले कति लिने भनेर हेर्दैनौं तर बैंकहरुमार्फत जाने गरेर सिफारिस गरिदिने गरेका छौं । जहाँसम्म बुझेअनुसार बाहिरबाट लिईने परामर्शमा १५ प्रतिशत, सफ्टवेयर आयातमा ५ प्रतिशत र ब्याण्डिवथमा १० प्रतिशत टिडिएस हो,’ प्रवक्ता पौडेलले भने ।

यसैगरि ब्याण्डविथ आयातमा लाग्दै आएको १० प्रतिशत टिडिएस घटाउने कुनै शिर्षक बजेट र आर्थिक ऐनमा नभेटिएको एक मोबाइल सेवा प्रदायक कम्पनीका एक उच्च अधिकारीले भने ।

‘हामीले पनि यस बारेमा समाचार आएपछि बजेट र आर्थिक ऐन हेर्यौं तर सचिव ज्यूले भनेको जस्तो छुट कतै उल्लेख छैन्, पछि आउने हो की ?’ ती अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनले समेत ब्याण्डविथ आयातमा हाल १५ प्रतिशत टिडिएस लाग्ने नभई १० प्रतिशत मात्र लाग्ने गरेको जानकारी दिए ।

सचिव ढुंगानाले भने आज आयोजित छलफलमा पत्रकारहरुसँग स्पष्टरुपमा यसअघि ब्याण्डविथ आयातमा लाग्दै आएको १५ प्रतिशत टिडिएसलाई घटाएर ५ प्रतिशत कायम गरेको बताएका थिए ।

इन्टरनेट ब्याण्डविथ आयातमा लाग्दै आएको टिडिएस शुल्क घटाएको अर्थ सचिवको भनाई

त्यसैगरि अर्का एक इन्टरनेट सेवा प्रदायकका संचालकले पनि सचिवले हचुवाको आधारमा सो विषय बोलेको आरोप लगाए ।

‘हामीलाई दिएको छुट कहाँ उल्लेख छ देखाईदिनुपर्यो । नभए यो त सरासर झुक्याउने काम भयो । यस्तो भनाईले ग्राहकहरुबाट शुल्क घटाउन हामीलाई सिधै दबाब आउने भयो,’ ती संचालकले भने ।

सचिव ढुंगानाले सेवा प्रदायकहरुले तिर्ने अन्य करहरु घटाउने विषयमा धेरै पटक छलफल गरेको तर समय अभावले नसकिएको बताएका थिए ।

‘हाम्रो धारणा करसँगै उपभोक्ताको लागि मूल्य पनि घटाउन सकिन्छ कि भन्ने थियो । यसमा हामीले होमवर्क गर्न खोजेका थियौं तर समय अभावले गर्दा समय दिन सकेनौं ।’ उनले भनेका थिए ।

यो पनि हेर्नुस्-

स्टार्टअपहरुलाई साउन १ गतेदेखि नै ऋण रकम उपलब्ध गराउने अर्थ सचिवको भनाई

TK Viber

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

Loading...