नेपाल टेलिकमले आव २०७७/७८ मा सरकारलाई बुझायो ६ अर्ब १७ करोड रुपैयाँ लाभांश

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

नेपाल टेलिकमले आव २०७७/७८ मा सरकारलाई बुझायो ६ अर्ब १७ करोड रुपैयाँ लाभांश

सरकारले सार्वजनिक संस्थानहरु मध्येबाट चालु आव २०७७/७८ मा सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)बाट लाभांश आर्जन गरेको छ। सरकारले वर्गिकरण गरेको जनपयोगी संस्थानहरु मध्येबाट नेपाल टेलिकमले मात्र सरकारलाई लाभांश बुझाएकोछ ।

नेपाल टेलिकमले चालु आवमा सरकारलाई ६ अर्ब १७ करोड ७७ लाख रुपैयाँ लाभांश बुझाएको छ ।
सरकारले यस क्षेत्रमा गरेको शेयर लगानी १ खर्ब ५३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँमध्ये केबल नेपाल टेलिकमले मात्र लाभांश दिन सफल भएको हो ।

त्यसैगरि आर्थिक वर्ष २०७५/७६ सम्म कोषमा व्यवस्था नगरिएको तथा सम्भाबित दायित्वमध्ये नेपाल टेलिकमको २२.११ प्रतिशतले वृद्धि भई १५ अर्ब ४४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार सरकारले लगानी गरेका संस्थान कम्पनीहरुमध्ये प्रमुख ५ कम्पनीहरुले आर्जन गरेको नाफाको तुलना गर्दा नेपाल टेलिकम तेस्रो स्थानमा रहेको छ । जसले चालु आबमा ९ अर्ब ७४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने संचित नाफा कम्पनीको ४६ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ रहेको छ। नेपाल टेलिकमले अघिल्लो आवको तुलनामा चालु आवमा झिनो अन्तरले कम नाफा आर्जन गरेको देखिएको छ ।

नाफाको आधारमा नेपाल टेलिकमभन्दा अगाडि नेपाल आयल निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरण रहेका छन् ।

नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर लगानी छ भने बाँकी कर्मचारी र सर्वसाधारणको गरेर ८.५९ प्रतिशत शेयर हिस्सा रहेको छ । २०७७ असार मसान्तसम्म टेलिकमको शेयर मूल्य घटेसँगै बजार पूँजीकरणमा ५.४८ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार टेलिकमले बढि आयकर बुझाउने सरकारी कम्पनीमध्ये पनि पहिलो भएको छ । टेलिकमले ६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

Loading...