अनलाइन कक्षा र वर्क फ्रम होमका कारण १ वर्षमा झण्डै साढे ३ लाख इन्टरनेट सेवाग्राही थपिए

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

अनलाइन कक्षा र वर्क फ्रम होमका कारण १ वर्षमा झण्डै साढे ३ लाख इन्टरनेट सेवाग्राही थपिए

नेपालमा पछिल्लो १ वर्षमा झण्डै साढे ३ लाखको संख्यामा इन्टरनेटका ग्राहक थपिएका छन्।

गत वर्ष फागुन मसान्तसम्म कुल १० लाख ८७ हजार ३१६ इन्टरनेट ग्राहक रहेकामा यो वर्षको सोही अवधि अर्थात् फागुन मसान्तसम्म आइपुग्दा उक्त संख्या बढेर १४ लाख ३२ हजार २८७ पुगेको छ।

यसरी हेर्दा पोहोरको तुलनामा अहिले इन्टरनेट सेवाग्राहीको संख्यामा ३ लाख ४३ हजार ९७१ वृद्धि भएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ फागुन मसान्तसम्म अद्यावधिक गरेर सार्वजनिक गरेको तथ्याङ्कले यस्तो अन्तर देखाएको हो।

गत वर्षको मंसिर महिनामा चीनबाट शुरु भएको कोरोनाको लहर चैत्र आइपुग्दा लकडाउन गर्नुपर्ने गरी नेपालमा पनि व्यापत् भयो। शिक्षण संस्थादेखि कार्यालयहरु बन्द भए। वैकल्पिक उपाय रोज्नुपर्ने अवस्था आयो र अधिकांश निजी तथा सरकारी विद्यालयहरुले अन‍लाइनमार्फत् पठनपाठन शुरु गरे।

यसबाहेक कार्यक्षेत्रमै गएर गर्नुपर्ने बाहेकका अधिकांश कार्यालयका काम पनि घरबाटै हुन थाल्यो। सामान्य बेलामा सबैजना कार्यालय वा स्कुल कलेज जाने भएकाले खासै प्रयोगमा नआउने घरहरुका इन्टरनेट कनेक्शनको संख्या तथा ब्याण्डविथ अपुग हुन थाल्यो।

मोबाइल डाटाबाट महँगो हुने भएकाले इन्टरनेट कनेक्शन जोड्नु र व्याण्डविथ बढाउनु नै उत्तम र निर्विकल्प मानियो। कति पयले विलासिताको वस्तु वा अनावश्यक खर्च गराउने साधन मान्दै आएको र नभए पनि चल्ने इन्टरनेट अब पढ्न र अफिसको कामका लागि अत्यावश्यक बन्यो र बिस्तारै मानिसहरुले इन्टरनेट कनेक्शन जोड्न वा थप्न थाले।

नेपालमा केबल, फाइवर वा वायरलेसका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्दै आएका ४० जति आईएसपीमा सेवाग्राहीका आवेदन थुप्रिन थाले।

बैंकिङ तथा अन्य भुक्तानी र महसुलका लागि पनि इन्टरनेटमा आधारित पेमेन्ट गेटवेहरुको प्रयोग एक्कासी बढ्न थाल्यो।

सामान्य बेला घर बाहिर हिँड्ने र मोबाइल टीभीमा खासै वास्ता नगर्ने वर्ग पनि लकडाउनका कारण समय बिताउन इन्टरनेट सहितका मोबाइल डिभाइसहरुको प्रयोग गर्न थाले।

फलस्वरुप १ वर्षका बीचमा मोबाइल डिभाइस, राउटर तथा कमप्युटरजन्य सामग्रीका साथमा इन्टरनेट सुविधा लिने पनि उल्लेख्य मात्रमा बढे।

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...