विद्युतीय भुक्तानीलाई अझ व्यापक बनाउनुपर्ने गभर्नर अधिकारीको भनाई

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

विद्युतीय भुक्तानीलाई अझ व्यापक बनाउनुपर्ने गभर्नर अधिकारीको भनाई

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएकोे धारणा राखेका छन् ।

भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं वैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्।

सो अवसरमा गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले भने, “विद्युतीय भुक्तानीसम्बन्धी नीतिगत व्यवस्था र पूर्वाधार विकासका कारण बन्दाबन्दी र निषेधाज्ञाको असहज अवस्थामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, कनेक्ट आइपीएसलगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएका छन् । यसलाई हामीले अझ व्यापक बनाउनुपर्ने आवश्यकता छ ।”

साथै, उनले नेपालको समष्टिगत अर्थतन्त्र र वित्तीय क्षेत्रको पछिल्लो आँकडाहरूसमेत कार्यक्रममा प्रस्तुत गरेका थिए ।

यसका साथै वैठकमा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्फ अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभयो । कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण, कर्जाको सावाँ/ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको जानकारी उनले दिए ।

रिजर्व बैंक अफ इण्डिया (आरबीआई)ले उक्त भर्चुअल वैठक आयोजना गरेको हो । वैठकका अवसरमा युनियनमा आबद्ध केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसँगै कोभिड–१९ को असरलाई न्यूनीकरण गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थासम्बन्धी विवरण प्रस्तुत गरिएको थियो ।

एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन् । अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो । युनियनको सचिवालय इरानको तेहरानमा छ ।

Global Bank
easy care

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

ताजा समाचार