फोरजी ग्राहक बढाउनेमा एनसेलले छलाङ मार्यो, नेपाल टेलिकम प्रति ग्राहक अझै विश्वस्त देखिएनन्

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

फोरजी ग्राहक बढाउनेमा एनसेलले छलाङ मार्यो, नेपाल टेलिकम प्रति ग्राहक अझै विश्वस्त देखिएनन्

काठमाडौं ।

तिब्रगतिमा देशभर फोरजी नेटवर्क बिस्तार गरिरहेको र फोरजी सेवामा नयाँ नयाँ प्रविधि र अफरहरु ल्याईरहेको नेपाल टेलिकमले अझै फोरजी सेवा प्रति ग्राहकहरुलाई विश्वास दिलाउन नसकेको देखिएको छ ।

हालै सार्वजनिक २०७७ फागुन महिनाको तथ्यांकअनुसार फोरजीका ग्राहकहरुमध्ये नेपाल टेलिकमका ग्राहकहरुको वृद्धि फोरजी नेटवर्क बिस्तार जस्तै तिब्र देखिएको छैन् ।

अर्कोतर्फ निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भने एक महिनामा नै आफ्ना फोरजी ग्राहकहरुको संख्यामा छलाङ्ग मारेको देखिएको छ । एनसेलले एकै महिनामा ५ लाख भन्दा धेरै फोरजी ग्राहकहरु थप गर्न सफल भएको छ ।

एनसेलका ग्राहक

प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनाको तथ्यांकअनुसार एनसेलले अघिल्लो महिना माघको तुलनामा आफ्ना फोरजी सेवाका ग्राहकहरुको संख्या ५ लाख ३० हजार ८०६ जना थप गर्न सफल भएको छ । कम्पनीले फागुन महिनामा ४८ लाख ५६ हजार ७४२ जना फोरजीका ग्राहकहरु बनाएको देखिन्छ ।

त्यसैगरि एनसेलको थ्रीजी सेवाका ग्राहकहरुमा कमी आएको छ। तथ्यांकअनुसार एनसेलसँग माघ महिनामा २४ लाख ९१ हजार ६५२ जना थ्रीजीका ग्राहकहरु थिए भने त्यसमा घटेर फागुन महिनामा २४ लाख ७० हजार ४२९ मा झरेका छन् ।

नेपाल टेलिकमका ग्राहक

अर्कोतर्फ सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको फोरजीका ग्राहकहरुको संख्या भने बढ्न सकेका छैनन् । टेलिकमसँग माघ महिनामा फोरजी सेवाका ग्राहकहरु २५ लाख ४४ हजार ७२४ जना थिए भने फागुन महिनामा यस्तो संख्या २५ लाख ८९ हजार २९४ जना रहेका छन् । अर्थात कम्पनीले एक महिनाको अन्तरमा केबल ४४ हजार ५७० जना मात्र फोरजीका ग्राहकहरु वृद्धि गर्न सकेको छ ।

फोरजी सेवाका ग्राहकहरु बिस्तारमा सुस्त देखिएको टेलिकम थ्रीजी ग्राहकहरुको वृद्धिमा भने आक्रामक रहेको देखिन्छ । कम्पनीले फागुन महिनामा थ्रीजीका ग्राहकहरु बढाएर ९० लाख ९४ हजार ९६० पुर्याएको छ । यसअघि माघ महिनामा यस्तो संख्या केबल ८८ लाख ६० हजार ३२२ रहेको थियो । टेलिकमले थ्रीजी नेटवर्कमा एकै महिनामा २ लाख ३४ हजार ६३८ जना ग्राहकहरु थप गर्न सफल भएको छ ।

ईभीडियो अर्थात टूजीतर्फ टेलिकसँग १ लाख ३६ हजार ५७३ जना ग्राहकहरु रहेका छन् ।

स्मार्ट टेलिकमका ग्राहक

तेस्रो सेवा प्रदायक स्मार्ट टेलिकमले पनि केहि संख्यामा फोरजीका ग्राहकहरु थपेर फागुन महिनामा २ लाख २३ हजार १४५ जना पुयाएको छ । यसअघि माघ महिनामा स्मार्टसँग २ लाख २२ हजार १४५ जना मात्र ग्राहकहरु थिए । एक महिनामा कम्पनीले ठ्याक्कै १ हजार जना ग्राहकहरु थप गरेको तथ्यांकमा देखिन्छ ।

तथ्यांकअनुसार फागुन महिनामा ब्रोडब्याण्डको पहुँच ८७.१९ प्रतिशत पुगेको छ । जसमध्ये मोबाइल ब्रोडब्याण्डको पहुँच ६४.०८ प्रतिशत रहेको छ भने फिस्क्ड वायर्डतर्फ २२.३५ प्रतिशत तथा वायरलेस तर्फ शुन्य दशमलब ७६ प्रतिशत रहेको छ ।

 

Global Bank
easy care

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार