अनलाइन भुक्तानी बढेपछि घट्यो रिचार्ज कार्ड खपत, ९ महिनामा १० करोड रुपैयाँको मात्र आयात

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

अनलाइन भुक्तानी बढेपछि घट्यो रिचार्ज कार्ड खपत, ९ महिनामा १० करोड रुपैयाँको मात्र आयात

काठमाडौं ।

नेपालमा पछिल्लो ९ महिनामा ८१ लाख ३९ हजार ८५५ थान रिचार्ज कार्ड आयात गरिएको छ।

नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार भारतबाट सबैभन्दा धेरै ४४ लाख २ हजार ६६० तथा चीनबाट ३५ लाख २६ हजार ९२६ थान रिचार्ज कार्ड ल्याइएका छन्।

यसबाहेक इन्डोनेसियाबाट २ लाख २ तथा मेक्सिको बाट १० हजार थान आयात भएको देखिएको छ।

यीबाहेक अन्य २० विभिन्न राष्ट्रबाट १ देखि १३८ थानसम्मका यस्ता कार्ड आयात भएका देखिन्छन्। यस्ता कार्डहरु विशेषगरी विभिन्न मोबाइल, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकले ल्याउने भएकाले चीन, भारत, इन्डोनेसिया तथा मेक्सिकोबाट आयात भएका व्यावसायिक प्रयोजनका लागि र बाँकी २० राष्ट्रबाट फुटकर आएकाहरु नमुना तथा परीक्षणका लागि ल्याइएको हुनसक्ने आकलन गर्न सकिन्छ।

ती रिचार्ज का मूल्य क्रमश: चीनबाट आयात भएको ६ करोड २८ लाख २१ हजार, भारतबट ३ करोड २७ लाख ७२ हजार, इन्डोनेसियाबाट ५२ लाख ५० हजार तथा मेक्सिकोबाट ५८ हजार गरी कुल १० करोड १० लाख ६ हजार रुपैयाँ रहेको छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेटक सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।

यस्ता सेवामा भुक्तानीका लागि विभिन्न अनलाइन गेटवेहरुको उपलब्धता बढेको र अधिकांश ग्राहक त्यतातिर आकर्षित भएपछि रिचार्ज कार्ड प्रयोगमा कमी आएको देखिन्छ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा २३ प्रतिशत अर्थात् २५ लाख १ हजार ३९७ थानले कम हो। गत वर्ष ९ महिनाभित्रमा १ करोड, ६ लाख ४१ हजार २५२ थान रिचार्ज कारर्ड आयात भएको तथ्याङ्क छ।

रकमका हिसाबले हेर्दा यो कारोबार गत वर्षको भन्दा २९ करोड ६२ लाख रुपैयाँले कम हो।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार