गुगलको एआई टूलले बिरामीको चर्म रोग पत्ता लगाउन सघाउ पुर्याउने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

गुगलको एआई टूलले बिरामीको चर्म रोग पत्ता लगाउन सघाउ पुर्याउने

काठमाडौं ।

गुगलले हालै अपलोड गरिएका फोटोहरुमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर मानिसमा भएका छाला नङ कपालसम्बन्धी समस्या पत्ता लगाउने प्रविधिको विकास गरेको छ।

डर्माटोलोजी असिस्ट टूल नाम दिइएको उक्त प्रविधि मंगलबार गुगल आई/ओ का नामले चिनिने गुगलको वार्षिक डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरिएको र यसै वर्षको अन्त्यसम्ममा प्रयोगमा आउने पनि बताइएको छ।

यो एपलाई यूरोपमा मेडिकल टूलका रुपमा सीई चिह्न प्रदान गरिएको छ। यस सन्दर्भमा एक क्यान्सरपीडितले एआई युक्त प्रविधिले चिकित्सकलाई बिरामीलाई उपचार गर्न सघाउने बताएका छन्।

गुगलका अनुसार उक्त एआईले २८८ प्रकारका छालजन्य अवस्थाबारे पत्ता लगाउने भए पनि यसलाई चिकित्सकीय  रोग निदान र उपचारको विकल्पका रुपमा हेरिएको छैन।

यो एप विकास गर्न ३ वर्ष लागेको र यसका लागि ६५ हजारभन्दा बढी निदान भएका, लाखाैं बिरामीहरुद्वारा प्रेषित समस्यायुक्त र लाखाैंको संख्यामा विभिन्न रंगका स्वस्थ छाला भएका फोटोहरुको अध्ययन र अनुसन्धान गरिएको थियो।

यी छालाका अध्ययनबाहेक विभिन्न बिरामीहरुसँग प्रश्नावलीका उत्तर संकलन गरिएका थिए। यो एप गुगलले नै यसअघि केही क्यान्सर र क्षयरोगका लक्षण पत्ता लगाउन विकास गरेको प्रविधिमा आधारित भएर विकास गरिएको कम्पनीको भनाइ छ।

गुगलले आफ्नो सर्च इन्जिनमा प्रत्येक वर्ष छाला, नङ रकपालसँग सम्बन्धित १० अर्बभन्दा धेरै खोजी गरिने बताएको छ।

यो एपलाई अमेरिकाको खाद्य तथा औषधी नियामक संस्था एफडीएले अमेरिकामा प्रयोगका लागि अनुमति दिइसकेको छैन र फोक्सोको क्यान्सरका लक्षण पत्ता लगाउने यस्तै खालको बेलायतले बनाएको एपले भने हालै अमेरिकामा अनुमति पाएको छ।

यूनिभर्सिटी अफ साउद्याम्टनका प्राध्यापक तथा क्यान्सर विज्ञानका प्रमुख टिम वुडले यस्ता एपले बिरामीलाई सही उपचार प्रदान गर्न मद्दत पुर्याउने बताएका छन्। ‘यो एआई एपले क्यान्सर र अन्य रोगका क्षेत्रमा बिरामीलाई के भएको छ र यसका लागि के उपचार दिन सकिन्छ भन्ने कुराको जानकारी आदान प्रदान गर्न मद्दत गर्छ’, उनले भनेका छन्।

easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार