Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमले सोमबारदेखि शुरु गरेको भीओएलटीई सेवामा हालसम्म ५ हजार भन्दा ग्राहकहरुले सो सेवा शुचारु गरिसकेका छन् । टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर शुरु गरेको नयाँ प्रविधिमा ग्राहकहरुको अभिरुची र सहभागीता बढिरहेको टेलिकमले जानकारी दिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार हालसम्म ५ हजार भन्दा धेरै सेवाग्राहीहरुले भीओएलटीई सेवा एक्टिभेट गरिसकेको जानकारी दिए ।
‘हाम्रो तथ्यांकअनुसार सेवा शुरु भएको एकै दिनमा ५ हजार भन्दा धेरै ग्राहकहरुले भीओएलटीई सेवा एक्टिभेट गरे बापत पाउने बोनस प्राप्त गरिसकेका छन्,’ उनले भने ।
यसका साथै भीओएलटीई सेवा एक्टिभेट गर्न खोज्नेहरुको संख्या पनि उच्च रहेको उनले बताए ।
‘भीओएलटीई सेवा एक्टिभेट गर्न चाहेका ग्राहकहरु एक्टिभेट गरेको भन्दा १७ गुणा अधिक रहेको देखिन्छ । जसले स्टार ४४४ ह्यास (*444#) डायल गरेका छन् ।’ प्रवक्ता जोशीले भने ।
उनकाअनुसार यो सेवा र प्रविधि अत्याधुनिक रहेको छ भने यसको लागि सपोर्ट गर्ने सेट आवश्यक पर्दछ । सपोर्ट गर्ने सेट नभएको खण्डमा सो सेवा ग्राहकले प्रयोग गर्न सक्दैनन् ।
उनले यसको लागि नेपालमा मोबाइल आयात गर्ने तथा फोन निर्माता कम्पनीहरुसँग कुराकानी भईरहेको जानकारी दिए ।
‘हामीले फोरजीको एडभान्स प्रविधि ल्याएका छौं । जसलाई सपोर्ट गर्ने मोबाइल सेटहरु पनि चाहिन्छ तर बजारमा त्यस्ता धेरै सेटहरु छैनन् ।,’ प्रवक्ता जोशीले भने, ‘अहिलेका धेरैजसो सेटहरुमा भीओएलटीई सेवा चलाउन सकिने देखिन्छ तर कम्पनीले त्यसमा सफ्टवेयर अपडेट गरिदिनुपर्दछ भने कतिपय पुराना सेटहरुमा यो प्रविधि चल्दैन्।,’
उनले आगामी दिनमा ग्राहकहरुलाई यस बारेमा थप जानकारीहरु दिईरहने र सपोर्ट गर्ने सेटहरुमात्र बजारबाट किन्नका लागि आग्रह गरे ।
किन चल्दैन भीओएलटीई सेवा तपाईँको फोनमा ?
अधिकांशले आफ्नो मोबाइलमा टेलिकमको सेवा नचलेको गुनासो गरेका छन् । जसमध्ये धेरैले स्टार ४४४ ह्यास डायल गरेर भीओएलटीई सेवा एक्टिभेट गरिसकेका छन् र त्यसपछिको प्रकृयालाई फलो गर्ने प्रयास गरेका छन् ।
मोबाइल सेवाग्राहीहरुले स्टार ४४४ ह्यास (*444#) डायल गरेपछि सिधै स्टार १११ ह्यास डायल गर्नेगरेको हुँदा अत्यधिक गुनासो आएको टेलिकमका प्रवक्ता जोशीको भनाई छ ।
‘शुरुमा स्टार ४४४ ह्यास (*444#) डायल गरेपछि आफ्नो मोबाइलमा सो भीओएलटीई प्रविधि सपोर्ट छ वा छैन भनेर हेर्नुपर्दछ र छ भने त्यसलाई इनेबल (सक्षम पार्ने) गर्नुपर्दछ । त्यसपछि मात्र स्टार १११ ह्यास (*111#) डायल गर्नुपर्दछ,’ उनले भने, ‘तर अधिकांशले आफ्नो मोबाइल सेटमा कम्प्याटिबल नभएपनि वा सेटिङ्ग नमिलाईकन सिधै स्टार १११ ह्यास (*111#) डायल गर्दा गुनासो धेरै आएको हो ।
जोशीका अनुसार भीओएलटीई सेवा सक्रिय गर्न सेवाग्राहीले मुख्य तीन विषयहरुमा ध्यान दिनुपर्दछ ।
माथिका सबै प्रकृया पुरा भएको खण्डमा स्टार १११ ह्यास डायल गरेपछि तपाईँले २८ दिनसम्म चलाउन सक्ने बोनस प्राप्त गर्नुहुनेछ । यदि तपाईँको फोनमा भीओएलटीई प्रविधि सपोर्ट गर्दैन भने तपाईँले स्टार १११ ह्यास (*111#) डायल गर्दा यस्तो संदेश प्राप्त गर्नुहुनेछ ।
बजारमा हाल उपलब्ध भएकामध्ये निकै थोरै मोबाइल सेटहरुमा मात्र भीओएलटीई एक्टिभ गर्न सकिने हुँदा ग्राहकहरुको गुनासो धेरै आएको टेलिकमको भनाई छ ।
टेलिकमकाअनुसार कतिपय सेटहरुलाई मोबाइल फोन कम्पनीहरुले सफ्टवेयरमार्फत अपडेट गरेर भीओएलटीई सेवा एक्टिभेट गरिदिनसक्ने देखिएको छ । आगामी दिनमा नयाँ मोबाइल फोन सेट किन्दा समेत भीओएलटीई सेवा चलाउन सकिन्छ वा सकिँदैन भन्ने थाहा पाएर मात्र मोबाइल किन्न टेलिकमले सबैलाई आग्रह गरेको छ ।
प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार