Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
कोरोनाभाइरसको संक्रमण बढेसँगै देशभरजसो निषेधाज्ञा लागेको छ । करिब ७५ जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ भने संक्रमण बढेसँगै बनेपालाई त सिल नै गरिएको छ ।
यसैबिच देशभर निषेधाज्ञाले अधिकांश मानिसहरु घरभित्रै बसिरहेको एक तथ्यांकले देखाएको छ ।
हालै गुगलले सार्वजनिक गरेको मे महिनाको कोभिड १९ कम्युनिटी मोबिलिटी रिपोर्टअनुसार बैशाख महिनामा यसअघिको तुलनामा २३ प्रतिशत नेपालीहरु घरभित्रै बसिरहेको देखिएको छ ।
लकडाउनले बाहिर जान र हिँडडुल गर्न प्रतिबन्ध लागेसँगै थप २३ प्रतिशत नेपालीहरु घरभित्रै बसिरहेको तथ्यांकले दखाएको छ ।
मानिसहरु घरभित्रै बस्न बाध्यभएसँगै कार्यालयमा कामगर्ने कर्मचारीहरुको चाप भने ह्वात्तै घटेको देखिन्छ । गुगलको पछिल्लो ताजा तथ्यांकअनुसार कार्यालयमा गएर कामगर्ने कर्मचारीहरुको संख्या करिब ६१ प्रतिशतले कमी आएको देखिएको छ ।
त्यसैगरि खुद्रा पसल जाने वा मनोरन्जनका लागि होटल रेष्टुरेन्टहरु वा सिनेमाघरमा जाने नेपालीको संख्या पछिल्लो महिनामा करिब ६३ प्रतिशतले घटेको देखिएको छ ।
किनमेलका लागि सुपरमार्केट जाने वा औषधि लिनका लागि फार्मेसी जानेहरुको संख्यामा पनि कमी आएको छ । जसमा औसतमा त्यस्तो स्थान जानेहरु २८ प्रतिशतले घटेका छन् ।
सार्वजनिक स्थलहरु, पार्क वा घुम्न जानेहरुको संख्यामा भने ३७ प्रतिशतले कमी आएको गुगलको तथ्यांकले देखाएको छ ।
निषेधाज्ञासँगै सार्वजनिक यातायातहरु समेत बन्द हुँदै गरेको अवस्थामा देशभर सार्वजनिक यातायातका साधन र प्रयोगगर्नेहरुको संख्यामा ५१ प्रतिशतले कमी आएको देखिएको छ ।
गुगले विश्वभर कोभिड महामारीले लकडाउनको अवस्था सिर्जना गरेसँगै यस्तो रिपोर्ट प्रकाशित गर्दै आएको छ ।
गुगलका अनुसार यसमा जियोलोकेशनको आधारमा डाटाहरु संकलन गर्ने र व्यक्तिहरुको गोपनियतालाई ध्यानमा राखिएकोछ ।
2021-05-14_NP_Mobility_Report_en-GBप्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार