चिनियाँ मङ्गल रोभर ‘जुरोङ’ मङ्गल ग्रहमा सफल अबतरण

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

चिनियाँ मङ्गल रोभर ‘जुरोङ’ मङ्गल ग्रहमा सफल अबतरण

चीनले मङ्गल ग्रहमा आफ्नो पहिलो यान सफलतापूर्वक अवतरण गराएको छ । ६ पाङ्ग्रे चिनियाँ रोबोट ‘जुरोङ’ Zhurong रोभर मङ्गल ग्रहको उत्तरी गोलार्ध यूटोपिया प्लानिटिया लक्षित गरेर अवतरण भएको हो ।

सो यान चिनियाँ समयअनुसार शनिवार बिहान करिब सवा सात बजे अवतरण भएको थियो ।

यो मङ्गल यानको अवतरणसँगै अमेरिकापछि मङ्गल ग्रहमा अन्तरिक्ष यान पठाउने चीन दोस्रो देश बनेको छ । केवल अमेरिकीहरूले मात्र अहिलेसम्म मंगल ग्रहमा यान अवतरण गराउन सफल भएका छन्। अन्य सबै देशहरूले गरेको प्रयास टचडाउनको लगत्तै क्र्याश भयो वा सम्पर्कबिहिन भएको थियो ।

चीनको यस यानले आफ्ना सोलार प्यानल खोल्न र पृथ्वीमा सम्पर्क गर्न करिब १७ मिनेट लिएको थियो ।

सो भेहिकलले अवतरण सहज बनाउन एक सुरक्षात्मक क्याप्सुल, प्याराशूट र रकेट प्लेटफर्मको संयोजन प्रयोग गर्‍यो। सफल टचडाउन कार्यको गाह्रो प्रकृतिको आधारमा यो उल्लेखनीय उपलब्धि भएको बताईएको छ ।

चीनले तिआन्वेन-वान मिसनअन्तर्गत गत वर्ष पठाएको सो यान करिब १ वर्षमा मङ्गल ग्रहको सतहमा पुगेको हो । यो यानलाई स्वचालितरुपमा सञ्चालन गर्न सकिने बताईएको छ । दुई सय ४० किलोग्राम तौल रहेको यो रोबोटले मङ्गल ग्रहको सतह र सतहमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

रोबटमा जडान गरिएका हाइ रिजोलुसन क्यामराले तस्वीर खिच्ने र दिशा पत्ता लगाउन सहयोग गर्नेछन् भने अरू पाँच उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थहरुको परीक्षण र मङ्गलको सतहमा हिउँ भए नभएको पत्ता लगाउनेछ । चिनियाँ यान करिब ९० दिनसम्म मङ्गगल ग्रहमा रहनेछ ।

चीनको जुरोङ मार्स मिसनका साथै अमेरिकाको पर्सिभेरन्स रोभर पनि मार्स मिसनमा रहेको छ ।

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...