शव व्यवस्थापनका लागि बनाउन लागिएको रोबो भ्यानको काम रोकियो

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

शव व्यवस्थापनका लागि बनाउन लागिएको रोबो भ्यानको काम रोकियो

काठमाडौं ।

कोरोना भाइरस तथा भाइरसजन्य रोगका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि मानिसले छुनु नपर्ने गरी सहयोग गर्ने निर्माण गर्न लागिएको ‘रोबो भ्यान’ निर्माणको कार्य बीचैमा रोकिएको छ ।

गत वर्ष साउनमा काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत छ जना विद्यार्थीको समूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अघि बढाएका थिए ।

गत कात्तिक महिनाभित्र रोबो भ्यान निर्माण सम्पन्न गर्ने लक्ष्यले काम सुरु गरिएको थियो ।

रिमोटबाट चल्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यान निर्माणका लागि आवश्यक पर्ने सामान नपाउनुका साथै आर्थिक अभावमा भ्यान निर्माणको काम बीचैमा रोकिएको बताए ।

यसअघि आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो ।

नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने र रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो ।

योजनाअनुसार रोबो भ्यान दुई भागको रहेको छ । रिमोट कन्ट्रोलका माध्यमबाट एउटा भागले मृत शरीरलाई उचालेर रोबो भ्यानमा राख्ने र अर्को भागले मृत शरीरलाई रोबो भ्यानबाट शव वहानमा राख्न सहयोग गर्छ । गत कात्तिकमा नै सो बारेमा जानकारी दिँदै समूहले करिब तीन महिनाअघिबाट सुरु गरिएको रोबो भ्यान बनाउने कामको एउटा भागको करिब ९० प्रतिशत काम सकिएको दाबी गरिएको थियो । डमी मृत शरीर राखेर रोबोको परीक्षणसमेत गरिसकिएको  थियो ।

रोबो भ्यान बनाउन कार्कीको नेतृत्वमा सञ्जीव पोख्रेल, शैलेश भट्ट, आर्जन आचार्य, विशाल भेटवाल र सुदीप फुयाँल सक्रिय रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

ताजा समाचार