नेपाल टेलिकमको आम्दानी सुधारोन्मुख, तेस्रो त्रैमासमा ग्राहकबाट हुने आम्दानी १ अर्बले बढ्यो

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

नेपाल टेलिकमको आम्दानी सुधारोन्मुख, तेस्रो त्रैमासमा ग्राहकबाट हुने आम्दानी १ अर्बले बढ्यो
Classic Tech

नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार कुल ११ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ । जसमा ग्राहकबाट हुने आम्दानीको हिस्सा अत्यधिक र सुधारोन्मुख रहेको देखिएको छ ।

टेलिकमले अघिल्लो आवको सोहि अवधिको तुलनामा चालु आवको तेस्रो त्रैमासमा करिब ७५ करोड ६९ लाख रुपैयाँ आम्दानी वृद्धि गर्न सफल भएको हो ।

कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमासमा १० अर्ब ३४ करोड ५४ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको बिबरणअनुसार ग्राहकहरुबाट कम्पनीले ९ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरै आम्दानी गरेको छ भने बाँकी अन्य सेवाहरुबाट आम्दानी गर्न सफलभएको हो । यस्तो आम्दानी कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा करिब एक अर्ब रुपैयाँले वृद्धि गरेको छ ।

आव २०७६/७७ को सोही अवधिमा ग्राहकबाट हुने टेलिकमको आम्दानी ८ अर्ब ७९ करोड रुपैयाँ मात्र रहेको थियो ।

टेलिकमले त्रैमासिक आम्दानी अपेक्षाअनुसार वृद्धि गर्न सफल भएपनि वार्षिकरुपमा भने आम्दानी घटेको छ ।

कम्पनीको चालु आवको हालसम्मको आय ३१ अर्ब ६८ करोड ८१ लाख ८९ हजार रुपैयाँ रहेको छ । तर त्यस्तो आम्दानी अघिल्लो आवको सोहि अवधिमा ३२ अर्ब २७ करोड २३ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीलाई सबैभन्दा धेरै असर वैदेशिक परिवर्त्य मूद्रामा परेको देखिन्छ जहाँ अघिल्लो वर्षको तुलनामा दोब्बरले घाटा भएको छ । बिबरणअनुसार तेस्रो त्रैमासमा २० करोड २१ लाख रुपैयाँ खर्च भएको छ जबकी अघिल्लो वर्षको सोही अबधिमा यस्तो खर्च ८ करोड ३० लाख रुपैयाँ हाराहारी रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अघिल्लो आवको पहिलो त्रैमासमा लकडाउनले निकै ठूलो असर पारेको र दोस्रो त्रैमासमा त्यसको प्रभाव देखिएपनि तेस्रो त्रैमासले राम्रो संकेत देखाएको बताए ।

‘गत वर्षको लकडाउन र आर्थिक गतिबिधि कम भईरहेको बेलामा निकै दबाबयुक्त अवस्था र समयहरुका बिचमा टेलिकमले उल्लेख्य आम्दानी बढाउन सफल भएको छ । यसमा थप सुधार गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

TK Viber

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

Loading...