उपयुक्त विद्युतीय भुक्तानीका उपकरणहरूमार्फत डिजिटल अर्थतन्त्र स्थापना सम्भव

Technology Khabar २७ बैशाख २०७८, सोमबार

उपयुक्त विद्युतीय भुक्तानीका उपकरणहरूमार्फत डिजिटल अर्थतन्त्र स्थापना सम्भव
Classic Tech

– बिनोद बजगाई,

सहायक निर्देशक, नेपाल राष्ट्र बैंक

परम्परागत रूपमा वस्तु विनिमय प्रणाली र पर्म साटासाटबाट विकास हुँदै आएको हाम्रो विनिमय पद्धतिमा पुरातत्वविद्ले तिलौराकोटको उत्खननका क्रममा प्राप्त गरेका प्रथम शताब्दीका साथसाथै पाचौँ–छैटौँ शताब्दीसम्मका सिक्काको प्रमाणीकरणले कारोबारको भुक्तानीको विकासक्रमलाई उजागर गर्न सहयोग पुर्याएको छ । विभिन्न कालखण्डका राजा–महाराजाहरूको शासन अवधिमा टकमारी गरिएका सिक्का, छापिएका नोट हुदै बैंकिङ प्रणालीको उदयसँगै आधुनिक प्रविधिद्वारा मुद्रित बैंक नोटहरूले हाम्रो विनिमय प्रणालीलाई सहज बनाएका छन् ।

भुक्तानी प्रणाली भन्नाले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ मा उल्लेख भए झैँ भुक्तानी उपकरणको माध्यमबाट सेवाग्राही, संस्था वा बैंकबीच हुने भुक्तानी, समाशोधन वा फस्र्योट कार्यका साथै जुनसुकै प्रकारको रकमान्तरलाई सहजीकरण गर्ने उपकरण, पद्धति, नीतिगत व्यवस्था र सो कारोबारमा आबद्ध हुने पक्षहरूसमेतलाई समेट्ने गरी ब्याङ्क फर इन्टरनेसनल सेटलमेन्टले परिभाषित गरेको छ । कागजी नोट र सिक्का मात्रको माध्यमबाट विनिमय गर्दाको कालखण्डमा ‘भुक्तानी प्रणाली’ भन्ने शब्दावली खासै लोकप्रिय नभएका कारण पनि हुन सक्छ चलनचल्तीको भाषामा भुक्तानी प्रणाली भन्नाले केवल कागजी मुद्रारहित आधुनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था र प्रविधिलाई मात्र बुझ्ने गरिएको छ ‘भुक्तानी उपकरण’ भन्नाले भुक्तानी कारोबार सम्पन्न गर्न प्रयोग हुने कागजी वा कागजरहित (विद्युतीय) माध्यमलाई बुझिन्छ । आधुनिक भुक्तानी प्रणालीको विकास, विस्तार तथा नियमन गर्न बनेको भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ मा परिभाषित चेकदेखि आधुनिक भुक्तानी उपकरणका रूपमा मोबाइल/इन्टरनेट बैंकिङ र इ–मनी (वालेट) लगायतका उपकरणका बारेमा यस लेखमा चर्चा गरिएको छ । विद्युतीय भुक्तानीका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भएका केही भुक्तानी उपकरणहरू यस प्रकार रहेका छन् ।

विद्युतीय वालेट र इ–मनी

विद्युतीय वालेट (इ–वालेट) भन्नाले अग्रिम रूपमा रकम जम्मा (लोड) गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रयोग हुने भुक्तानी उपकरण हो । हामीले बोक्ने पर्स (वालेट/थैली) मा जम्मा गरेको रकम झैँ विद्युतीय वालेटमा रहेको रकम खर्चगर्ने र वालेट खाली वा रकम अपुग भएपछि पुनः लोड गरी प्रयोग गर्न मिल्ने व्यवस्था रहेको हुन्छ । हामीले मोबाइल/इन्टरनेट बैंकिङ प्रणाली वा सेवा प्रदायकद्वारा नियुक्त एजेन्ट/सबएजेन्टमार्फत वा कुनै बैंकमा भौचर भरी काउन्टरमा पेश गरेर भुक्तानी सेवा प्रदायकको तोकिएको खातामा रकम जम्मा गरेपछि सेवा प्रदायकले हाम्रो वालेट खातामा इ–मनी लोड गरिदिन्छन् ।

कतिपय मुलुक र प्रणालीमा हामीले पर्समा नगदका अलावा भुक्तानी कार्ड राखे झैं इ–वालेटमा पनि आफूसँग रहेको भुक्तानी कार्ड, बैंक खातासमेत लिङ्क गरी भुक्तानी कारोबार गर्दा सोझै ती कार्ड वा बैंक खाताको रकम खर्च गर्ने गरी भुक्तानी कारोबार गर्नसकिने सुविधा रहेको हुन्छ । नेपालमा सञ्चालित अधिकांश भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय वालेट उपकरणलाई प्रमुख भुक्तानी उपकरणका रूपमा विकास र विस्तार गरेका छन् । हाम्रो वालेटमा लोड गरिएको रकमलाई विद्युतीय पैसा (इ–मनी) भनिन्छ । कतिपय मुलुकमा निजी क्षेत्रद्वारा प्रवद्र्धित मात्र नभई केन्द्रीय बैंकलेआफ्नै विद्युतीय वालेट जारी गरी केन्द्रीय बैंक प्रवद्र्धित विद्युतीय मुद्रा (Central Bank Digital Currency – CBDC) समेत परीक्षण गरिरहेका छन् । CBDC को प्रयोगले अर्थतन्त्रमा कागजी नोटको छपाई र प्रचलनलाई कम गर्ने मात्र होइन आधुनिक कम्प्युटर प्रविधि र सुरक्षा प्रविधिको उपभोगमार्फत विनिमय प्रणालीको परिभाषा नै परिष्कृत गर्ने अपेक्षा गरिएको छ ।

चेक र (स्वचालित) समाशोधन गृह

भुक्तानीका लागि सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा पेश भएका चेक र विनिमय पत्रहरू सङ्कलन गरी सोमा उल्लिखित रकमका आधारमा तय भएको खुद रकम मात्र परस्परमा आदानप्रदान हुने गरी व्यवस्था गरिएको प्रणालीलाई समाशोधन गृह (क्लियरिङ हाउस) भनिन्छ । यसरी समाशोधन गर्दा जतिसुकै वटा चेक/कारोबारहरू भए तापनि कुनै दुई संस्थाहरूबीच केवल एउटा (एक सदस्य संस्थाले अर्को संस्थालाई तिर्ने/लिने) मात्र कारोबार हुन्छ । यस्तो खुद कारोबारको मिलान पनि सामान्यतया केन्द्रीय बैंकमा रहेको सदस्य संस्थाको खातामा हुने गरी व्यवस्था गरिएकोहुन्छ । यदि सदस्य संस्थामा पेश भएको चेक तथा विनिमय पत्रहरू भौतिक रूपमा चलान नगरी केवल विद्युतीय प्रति (स्क्यान कपि) मात्र प्रणालीमार्फत सम्बन्धित संस्थामा पेश गरिन्छ भने त्यस्तो प्रणालीलाई चेक ट्रङ्केसन प्रणाली (Cheque Truncation System) भनिन्छ । नेपालमा प्रयोग गरिएको चेक ट्रङ्केसन प्रणाली लाई Electronic Cheque Clearing (ECC) को नामले चिनिन्छ । हाल संसारभर प्रचलित अधिकांश समाशोधन गृहले चेक ट्रङ्केसन पद्धति नै अवलम्बन गर्दछन् । आधुनिक वित्तीय प्रणालीमा समाशोधन गृहले केवल चेक र विनिमयपत्रको मात्र सेटलमेन्ट नगरी विद्युतीय अन्तरबैंक भुक्तानी (Interbank Payment-IPS) कारोबारको समेत खुद भुक्तानी पोजिसनलाई समाशोधन गर्दछन् । नेपालमा विद्युतीय चेक क्लियरिङ तथा अन्तरबैंक रकमान्तरको समाशोधन नेपाल क्लियरिङ हाउसले गर्दै आएको छ भने यस संस्थाले विकास र विस्तार गरेको खुद्रा (सानोमूल्य/रकमको) भुक्तानी प्रणालीबाट उत्पन्न हुने खुद पोजिसन पनि आरटीजीएस प्रणालीमार्फत नेपाल राष्ट्र बैंकमा रहेको बैंक वित्तीय संस्थाको खातामा डेबिट वा क्रेडिट गरी फस्र्योट गर्दछ ।(ग) वायर ट्रान्सफर र स्विफ्ट वायर ट्रान्सफर भन्नाले सदस्य संस्थाहरूको सञ्जाल भित्र विद्युतीय माध्यमबाट रकमान्तर गर्ने प्रणाली हो । यस प्रणालीमार्फत रकमान्तर गर्दा भुक्तानी गर्ने व्यक्ति/संस्थाले रकम प्राप्त गर्ने व्यक्ति/संस्थाको नाम, खाता नम्बर र रकम यकिन गरी आफ्नो बैंकमार्फत भुक्तानी आदेश दिने गर्दछ । तत्कालीन समय (Realtime) मा वा ढिलो गरी (Diff ered) एकमुष्ट (Batch) मा कारोबार सम्पन्न गर्ने वायर ट्रान्सफर विद्युतीय अन्तरबैंक भुक्तानीलाई परिभाषित गर्ने साझा शब्दावली हो ।

संयुक्त राज्य अमेरिकामा रियल टाइम ग्रस सेटलमेन्ट जस्तै सेवा प्रदान गर्नेगरी फेड वायर सञ्चालनमा रहेको छ । वायर ट्रान्सफरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थाको सञ्जाल तयार गरी अन्तरबैंक भुक्तानी गरिन्छ । यसरी हुने भुक्तानी तत्कालीन समयमै वा केही समय/दिनपछि मात्र प्राप्त हुने गरी सञ्चालित हुन सक्छ । वायर ट्रान्सफर भन्नाले आन्तरिक बैंकहरूबीचको रकमान्तर मात्र नभई अन्तर्राष्ट्रिय रूपमा हुने विप्रेषणसमेतलाई बुझाउँछ । अन्तर्राष्ट्रिय वायर ट्रान्सफर सेवा उपलब्ध गराउने विभिन्न विप्रेषण कम्पनीहरू जस्तै स्विफ्ट (Society for Worldwide Inter-bank Financial Telecommunications) पनि संसारभरका २०० भन्दा बढी मुलुकका ११,००० भन्दा धेरै सदस्य बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भएको अन्तरबैंक सम्पर्क सञ्जाल हो । स्विफ्टमार्फत भुक्तानी आदेश प्रेषण तथा प्राप्त गर्न एक विशिष्टीकृत सफ्टवेयर पूर्वाधार, बैंक कोड (Bank Identification Code- BIC) तथा Communication Message Format को प्रयोग हुन्छ । स्विफ्टले प्रयोग गर्नेः Message Format नै अवलम्बन गर्ने गरी संसारभरका विभिन्न वित्तीय प्रणालीमा कारोबार र वित्तीय विवरण आदानप्रदान गर्ने प्रविधिको विकास भएका कारण पनि स्विफ्ट अन्तर्राष्ट्रियस्तरमा विद्युतीय भुक्तानीको अभिन्न अङ्ग बन्न पुगेको छ ।

अन्तरबैंक भुक्तानी प्रणाली

कुनै एक प्रणाली/सञ्जालभित्रका सदस्य बैंक तथा वित्तीय संस्थाबीच रकमान्तर गर्न लोकप्रिय अन्तरबैंक भुक्तानी प्रणाली वायर ट्रान्सफरकै एउटा रूप भए तापनि नेपालमा अन्तरबैंक भुक्तानी प्रणालीको नामबाट प्रयोग भएको हुनालेयसको अलग्गै चर्चा गर्न जरुरी छ । नेपालमा भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त गरेका संस्थाले इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थालाई आफ्नो सञ्जालमा आबद्ध गरी सदस्य संस्थाको Core Banking System (CBS) सम्म स्वचालित रूपमा कारोबार प्रविष्टि गर्ने सफ्टवेयर पूर्वाधार जडान गरी भुक्तानी कारोबार सम्पन्न गर्न विकास र विस्तार गरेकोप्रणाली नै अन्तरबैंक भुक्तानी प्रणालीको रूपमा प्रयोग भइरहेको छ । नेपाली बजारमा मुख्यतः नेपाल क्लियरिङ हाउस लिमिटेडले Interbank Payment System (IPS) तथा फोन–पे पेमेन्ट सर्भिस लिमिटेडले nterbank Fund Transfer (IBFT) को नामबाट प्रवद्र्धन गरेको अन्तरबैंक भुक्तानी प्रणाली सञ्चालकको छुट्टै मोबाइल वा वेब प्लेटफर्ममार्फत र बैंक तथा वित्तीय संस्थाको मोबाइल, इन्टरनेट बैंकिङ प्रणालीमै एकीकृत गरेर सञ्चालन भइरहेको छ । कुनै निश्चित अवधिमा भएका अन्तरबैंक भुक्तानी कारोबारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूको खातामा रकम डेबिट/क्रेडिट हुने र यसको फस्र्योटका लागि एक बैंक र अर्को र बैंकबीचमा परस्परमा लेनदेन गर्नुपर्ने खुद रकमलाई भुक्तानी प्रणाली सञ्चालकले कुनै एक सेटलमेन्ट बैंकमा सम्पूर्ण सदस्य संस्थाका लागि खोलेको खातामा एकमुष्ट रूपमा खुद रकमको डेबिट वा क्रेडिट प्रविष्टि गरी फस्र्योट गर्ने गर्दछ ।

विद्युतीय भुक्तानी कार्ड

ग्राहकको खाता रहेको बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थाद्वारा जारी भई धारकलेआफ्नो खाताको रकम विद्युतीय माध्यमबाट खर्चवा रकमान्तर गर्न प्रयोग हुने विभिन्न प्रकारका भुक्तानी कार्डहरू संसारभर लोकप्रिय छन् । भुक्तानी कार्डमध्ये डेबिट कार्ड (एटीएम कार्ड), क्रेडिट कार्ड, प्रिपेड कार्ड नेपाली बजारमा बढी प्रयोगमा रहेका छन् । डेबिट कार्डलाई ग्राहकको बचत खातासँग लिङ्क गरी ग्राहकले एटीएममार्फत रकम झिक्दा, Point of Sale (POS) मेसिनमार्फत मर्चेन्टलाई भुक्तानी गर्दा, Online/e-Commerce भुक्तानी गर्दा वा सो कार्डमार्फत कुनै प्रकारको रकमान्तर गर्दा सीधै ग्राहकको बचत खातामा रहेको रकम कट्टा हुने व्यवस्था गरिएको हुन्छ । त्यसैगरी क्रेडिट कार्डमार्फत हुने कारोबारमा बैंक तथा वित्तीय संस्थामा सो ग्राहकको लागि खोलिएको ओभरड्राफ्ट प्रकृतिको खाताबाट रकम कट्टा भई कर्जा सुविधाको रूपमा तिर्नुपर्ने रकमको रूपमा जनाइएको हुन्छ । सो रकम निर्धारित समयभित्र भुुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्दैन भने सो समयावधि पश्चात् ब्याज/हर्जना लाग्ने हुन्छ । कुनै बैंक तथा वित्तीय संस्थामा खाता रहेका वा नरहेका ग्राहकको अनुरोध बमोजिम कुनै निश्चित रकम अग्रिम भुक्तानी लिई निर्धारित सीमासम्मको रकम खर्च/रकमान्तर गर्न मिल्ने गरी लोड गरिएको कार्ड प्रिपेड कार्ड हो । यस्तो कार्ड स्वदेशी वा जुनसुुकै विदेशी मुद्रामा पनि जारी हुन सक्छ । देश बाहिर (विदेशी मुद्रामा) भुक्तानी गर्न मिल्ने गरी जारी भएका प्रिपेड कार्डलाई ट्राभलर्स कार्ड पनि भनिन्छ । उल्लिखित कार्डहरूमा धारण गर्ने ग्राहकको पहिचानसम्बन्भी विवरणहरू Magnetic Strip वा Chip वा Radio Frequency ID (RFID)मा भण्डार गरिएको हुन्छ । Magnetic Strip को विवरण एटीएम मेसिन वा POS मेसिनमा Swipe मात्र गरेर कारोबार गर्न सकिन्छ भने Chip मा आधारित कार्डलाई कारोबार अवधिभर मेसिनमै राख्नुपर्छ । तर RFID मा आधारित Contactless कार्डलाई भुक्तानी गर्न मेसिनको नजिकै लैजाँदा मात्र पनि कार्डमा रहेको ग्राहक पहिचानसम्बन्धी विवरण मेसिनले प्राप्त गर्न सक्छ र भुक्तानी कारोबार सम्पन्न गर्न सकिन्छ । Contactless मा कार्ड र मेसिनबीच विवरण आदानप्रदान गर्न Near Field Communication(NFC) प्रविधिसमेत प्रयोग हुनसक्ने कारण Contactless Card NFC Card को रूपमा पनि परिचित छ । Contactless Card को प्रयोग सहज र प्रभावकारी बनाउन सानो मूल्यको भुक्तानी गर्दा ग्राहकले पिन कोडसमेत हाल्नु नपर्ने गरी व्यवस्था गरिएको हुन्छ ।

मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ

ग्राहकको खाता रहेको बैंक तथा वित्तीय संस्थालेप्रदान गर्ने मोबाइल एप्लिकेसन (एप) वा इन्टरनेट प्रणालीमार्फत आफ्नो खातामा रहेको रकम खर्चगरी भुक्तानी कारोबार वा रकमान्तर गर्ने सुविधा मोबाइल/इन्टरनेट बैंकिङ प्रणालीमा रहेको हुन्छ । मोबाइल एप्लिकेसन प्रयोग गरी गरिने विद्युतीय वित्तीय सेवालाई मोबाइल बैंकिङ भनिन्छ भने स्मार्ट फोन वा कम्प्युटरको ब्राउजरमार्फत सेवा प्रदायकको वेबसाइटमा लग इन गरी उपभोग गरिने सेवालाई इन्टरनेट बैंकिङ भनिएको छ । स्मार्ट फोनमा इन्स्टल गरी प्रयोग हुने मोबाइल एपसम्मको सहज पहुँच र फोन हराउने वा चोरी भईगलत व्यक्तिसम्म बैंक खाताको पहुँच पुग्ने कारण यसलाई इन्टरनेट बैंकिङको तुलनामा जोखिमयुक्त मानिएको हुनाले मोबाइल एपमा उपलब्ध सुविधा र भुक्तानीको सिमा इन्टरनेट बैंकिङको तुलनामा सीमित रहेको पाइन्छ । बैंकिङ तथा भुक्तानी प्रविधिलाई कारोबारको निर्देशन Short Message Service (SMS) मार्फत प्रेषण गरी जानकारी आदानप्रदान तथा कारोबार गर्ने प्रविधिलाई एसएमएस बैंकिङ भनिन्छ । स्मार्ट फोनबाहेक अन्य साधारण मोबाइल फोनमा पनि प्रयोग गर्नसकिने एसएमएस बैंकिङ सेवा भुक्तानी वा रकमान्तरका लागि बिरलै प्रयोग भए तापनि जानकारी/सूचना आदानप्रदानका लागि नियमित प्रयोग हुन्छ । एसएमएस बैंकिङमार्फत ग्राहकलेआफ्नो बैंक/वालेट खातामा भएको मौज्दात जाँच गर्ने, खातामा हुने जम्मा (क्रेडिट) वा खर्च (डेबिट) कारोबारको सूचना प्राप्त गर्ने, One Time Password प्राप्त गरी कुनै कारोबार सम्पन्न गर्ने, खाता निष्क्रिय गर्ने, चेकबुक अनुरोध गर्ने, चेक भुक्तानी रोक्नेलगायतको सेवा उपभोग गर्न सक्दछ । एसएमएस सेवा प्रयोग गरी बैंक खातामार्फत नै भुक्तानी कारोबार गर्नु जोखिमयुक्त हुनाले खासै प्रयोगमा नरहे तापनि थोरै मात्र रकम राखी प्रयोग गरिने इ–वालेटमा रहेको रकम खर्च गरी मोबाइल रिचार्ज गर्ने, अर्को ग्राहकको खातामा रकमान्तर गर्नेलगायतका केही सीमित सेवाहरू भुक्तानी सेवा प्रदायकले प्रदान गरेको पाइन्छ ।

एसएमएसमार्फत कारोबार निर्देशन दिँदा कुनै निश्चित ढाँचा (Syntax) मा कारोबारको प्रकृति (रिचार्ज वा रकमान्तर वा विल भुक्तानी आदि) र रकम उल्लेख गरी सम्बन्धित सेवा प्रदायकले तोकेको नम्बरमा एसएमएस पठाई भुक्तानी गर्न सकिन्छ ।

क्यूआर कोड

कुनै पनि भुक्तानी कारोबार वा रकमान्तर गर्न आवश्यक पर्ने विवरणहरू जस्तै; बैंक वा वालेटको नाम, खातावालाको नाम, खाता नम्बर (वा सो विवरण Retrieve गर्न सकिने गरी सेवा प्रदायकद्वारा उपलब्ध गराइएको Identification Code वैकल्पिक रूपमा कारोबार रकमसमेतकोविवरण राखिएको क्यूआर कोड (चित्र) स्मार्टफोनमार्फत स्क्यान गर्ने र भुक्तानी गर्ने पद्धति क्यूआरमा आधारित भुक्तानी प्रणाली हो । क्यूआर कोडमा रहेको विवरण आँखाले पढ्न नसकिनेतर मोबाइल फोन तथा क्यूआर कोड रिडर उपकरणबाट छोटो अवधि मै उद्धरण गर्न सकिनेहुनाले सोही विवरणको आधारमा भुक्तानी कारोबार अगाडि बढाउन सकिन्छ । क्यूआर कोडमा ठूलो मात्रामा विवरण भण्डारण गर्नसक्नेक्षमता भएको, कागजमा प्रिन्ट गरिएको मात्र नभई मोबाइल वा कम्प्युटरको स्क्रिनबाट चित्र (कोड) सीधै स्क्यान गर्न सकिने क्षमता, क्यूआरकोसानोतिनो खण्ड मेटिए वा च्यातिए पनि बाँकी खण्डबाट विवरण निकाल्न सकिने, न्यून शुल्कमा जडान गर्न सकिने र नछोइकन कारोबार गर्नसकिनेलगायतका विविध फाइदाले गर्दा यसकोव्यापक विस्तार हुँदै गरेको छ । क्यूआरमार्फत हुनेकारोबारमा भुक्तानी एप्लिकेसनसम्म रकम प्राप्त गर्नेको विवरण प्रविष्टि गर्ने तरिका मात्र फरक हुन्छ, सो विवरण भुक्तानी उपकरण/एपले प्राप्त गरेपछिको बाँकी कार्य सञ्चालन प्रक्रिया नियमित मोबाइल बैंकिङ वा वालेट भुक्तानी जस्तै गरी अगाडि बढ्ने हुँदा ग्राहकको अनुभवका हिसाबलेभिन्न रहे तापनि प्राविधिक रूपमा यसलाई भिन्न भुक्तानी उपकरणमा नराख्न पनि सकिन्छ ।

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)

आरटीजीएस प्रणाली भन्नाले कुनै पनि दुई बैंक तथा वित्तीय संस्थाबीच रकमान्तर तथा धितोपत्रको हस्तान्तरण कारोबार एकएक गर्दै तत्कालीन समयमै फस्र्योट गर्ने प्रणालीलाई बुझिन्छ । विद्युतीय भुक्तानी कारोबारमा आरटीजीएस प्रणाली भन्नाले क्लियरिङ हाउसमार्फत हुने खुद कारोबारमा आधारित फस्र्यौट विपरीत हरेक कारोबारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको केन्द्रीय बैंकमा रहेको खातालाई डेबिट वा क्रेडिट गरेर एकएक गरी कारोबार सम्पन्न गर्ने प्रणालीलाई जनाउँछ । आरटीजीएस प्रयोगमार्फत बैंकहरूको कोष व्यवस्थापनका लागि तत्काल अन्तरबैंक रकमान्तर गर्न र एक संस्थाको ग्राहकले अर्को संस्थाको ग्राहकलाई छोटो समयमै रकम भुक्तानी गर्न सकिन्छ । आरटीजीएस प्रणालीमा ठूलो मूल्यकोकारोबार हुने तथा केन्द्रीय बैंकमा रहेको बैंक खाता प्रयोग हुने हुँदा यो प्रणाली निकै संवेदनशील हुन्छ । यस कारण अधिकांश मुलुकमा आरटीजीएस प्रणाली केन्द्रीय बैंक स्वयम्ले सञ्चालन गरेकोपाइन्छ । आरटीजीएस प्रणालीमार्फत सम्पन्न भएको कारोबार अन्तिम तथा फिर्ता गर्न नसकिनेसैद्धान्तिक व्यवस्था रहेको छ ।

आरटीजीएस प्रणालीमार्फत कारोबार गर्नग्राहकले आफ्नो खाता रहको बैंकलाई निर्दिष्ट विवरणसहितको फारम भरी काउन्टरमा वा अनलाइन बैंकिङमार्फत भुक्तानी आदेश दिएपश्चात्बैंकले आरटीजीएस प्रणालीमा त्यस कारोबारकोविवरण प्रेषण गरेपछि केन्द्रीय बैंकमा रहेकोखातामा रकमान्तर हुन्छ र भुक्तानी प्राप्त गर्नेव्यक्तिको बैंकले समेत सो कारोबारकोे विवरण प्राप्त गर्छ । यसरी प्राप्त भुक्तानी विवरणका आधारमा ग्राहकको खातामा स्वतः रकम जम्मा हुने गरी प्रणाली जडान गरिएको हुनाले मानव संलग्नता बेगर स्वचालित रूपमा कारोबार सम्पन्न हुन्छ । कागजी फारम भरेर भुक्तानी आदेश दिँदा ग्राहकलाई विद्युतीय कारोबार गरेको अनुभव नभए तापनि बैंकहरूले आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ प्रणालीमार्फत सोेझै आरटीजीएस कारोबार आदेश दिन मिल्ने गरी व्यवस्था गर्न सक्छन् ।

Unstructured Supplementary Service Data (USSD)

विद्युतीय भुक्तानीका लागि हामीले इन्टरनेट (मोबाइल डाटासमेत) र एसएमएसको माध्यमबाट कारोबार वा निर्देशन दिई भुक्तानी सम्पन्न गर्ने तथा जानकारी प्राप्त गर्ने प्रविधिका अलावा टेलिकम सेवा प्रदायकले ग्राहकलाई उपलब्ध गराउने USSD माध्यम फरक हो । हामीले नियमित रूपमा टेलिकमसँग सम्बन्धित सेवामा ब्यालेन्स जाँच, ब्यालेन्स ट्रान्सफरका साथै (भ्वाइस, एसएमएस र डाटा) प्याकेजहरू खरिद गर्न सेवा प्रदायक पिच्छे फरकफरक कोड राखी कारोबार गर्ने गरेका छौँ । हामीले लिने सेवासँग सम्बन्धित कोड (जस्तैः नेपाल टेलिकमको प्याकेज खरिद गर्न *1415#) डायल गरेपछि आउने मेनुमा दिइएका विकल्पहरू मध्येको अङ्क राखेपछि सो चयनका आधारमा निर्देशित कारोबार सम्पन्न हुन्छ । ब्यालेन्स जाँच र ट्रान्सफर गर्ने जस्तो सरल प्रकृतिको कारोबारमा यस्तो मेनुपनि आवश्यक नभई एकै निर्देशनका आधारमा कारोबार सम्पन्न हुन्छ । यहाँ उदाहरण दिइएका कोडको निर्देशन टेलिकम सेवा प्रदायककै सेवासँग सम्बन्धित हुनाले सो निर्देशनका आधारमा निर्देशित कारोबार टेलिकम सेवा प्रदायक स्वयम्ले सम्पन्न गर्छ । तर यही USSD प्रविधिमार्फत विद्युतीय भुक्तानीसम्बन्धी अन्य निर्देशन प्राप्त गरी टेलिकम सेवाप्रदायकले सो निर्देशन सम्बन्धित भुक्तानी प्रणालीसम्म Forward गर्ने र Forward गरिएको निर्देशनका आधारमा भुक्तानी प्रणालीले निर्देशित कारोबार सम्पन्न गर्दछ । हामीले USSD मार्फत प्राप्त मेनुका आधारमा डाटा/भ्वाइस प्याकेजहरू खरिद गरेजस्तै कुुनै व्यक्तिलाई रकमान्तर गर्नर वस्तु तथा सेवा खरिदको भुक्तानी पनि गर्नसक्छौं । यस प्रविधिमार्फत कारोबार गर्नका लागि स्मार्ट फोनको पनि जरुरत नपर्ने, मोबाइल डाटा कनेक्सन नचाहिने/खर्च गर्नुनपर्ने र मोबाइलकोनेटवर्क कमजोर भएको अवस्थामा पनि सहजैनिर्देशन पठाउन सकिने कारण यसले वित्तीय समावेशीकरणमा निकै टेवा प्रदान गर्दछ । तर USSD Code हालेपछि आउने मेनु केवल अङ्क र अक्षर मात्र भएको Plain Text मा हुने, सो मेनुमा देखाउन मिल्ने अक्षरको संख्या सीमित हुने र एक पटक पठाइएको निर्देशन रद्द गर्न सम्भव नहुनेजस्ता कठिनाइले गर्दा यस प्रविधिमार्फत उपलब्ध हुनसक्ने सेवा सीमित हुन्छन् । यसका बाबजुद पनि केन्या लगायतका अफ्रिकी मुलुकमा यस प्रविधिको प्रयोगले विद्युतीय भुक्तानीमा युगान्तकारी परिवर्तन ल्याएको छ । नेपालमा पनि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संयुक्त लगानीमा स्थापित नेपाल विद्युतीय भुक्तानी कम्पनीले USSD प्रविधिको प्रयोगमार्फत सेवा दिनेगरी काम अगाडि बढाएको हुनाले आगामी दिनमा विद्युतीय भुक्तानी सेवा मुलुकको दुर्गम क्षेत्रसम्म विस्तार हुने अपेक्षा गर्नसकिन्छ ।

सामाजिक सञ्जालमा आधारित भुक्तानी

नेपालमा धेरै मात्रामा प्रयोग नभएको र विद्युतीय वालेटभन्दा खासै भिन्न विशेषता नरहे तापनि विकसित देशहरूमा सामाजिक सञ्जालमा आधारित भुक्तानी सेवा निकै लोकप्रिय रहेको छ । यसअन्तर्गत हामी गुगल, एप्पल र अमेजनहरूले उपलब्ध गराउने अलग्गै वालेटका अलावा मोबाइल एप र इन्टरनेटमार्फत पहिले नै स्थापित सेवा प्रदायकले आफ्नो सेवा सामाजिक सञ्जाल वा च्याट गर्ने प्लेटफर्ममा एकीकृत गरी उपलब्ध गराउने सेवालाई लिन सक्छौं । च्याट प्लेटफर्ममा एकीकृत गरिएको च्याट प्रोगाम (Chat Bot) हरूले हामीले प्रेषण गरेको शाब्दिक निर्देशनलाई बैंकको प्रणालीसम्म Forward गरी त्यहाँबाट प्राप्त Response लाई Chat Screen मै देखाएर अन्तरक्रियात्मक रूपमा हाम्रो खातासँग सम्बन्धित जानकारी (जस्तैः खाताको मौज्दात) र केही वित्तीय सेवाहरू प्रदान गर्ने गर्दछन् । छिमेकी मुलुक भारतका बैंकहरूले WhatsApp च्याटमा तथा नेपालका बैंकहरूले भाइबरमार्फत यस्तोसेवा प्रदान गरिरहेका छन् । Chat Bot ले प्राप्त निर्देशनको शब्द (Key word) का आधारमा सेवा दिन्छ भने च्याट एपमै Mini Program एकीकृत गरी सोही च्याट एपभित्रै भुक्तानी एप खुल्ने र सोएपमार्फत भुक्तानी कारोबार गर्न मिल्ने प्रविधिकोपनि विकास भएको छ । नेपालमै पनि इ–सेवालेकेही समय अगाडि भाइबर प्लेटफर्ममा Mini Program मार्फत मोबाइल टपअप तथा रकमान्तर गर्न सक्ने सेवा सुरुआत गरेको छ। अन्तर्राष्ट्रिय रूपमा निकै ख्यातिप्राप्त चिनियाँ भुक्तानी सेवा प्रदायक WeChat Pay ले पनि छुट्टै मोबाइल एपका साथै WeChat मा एकीकृत Mini Program मार्फत समेत भुक्तानी सेवा प्रदान गरिरहेको छ ।

हामीले कारोबार गर्न चयन गर्ने भुक्तानी प्रणालीका विभिन्न विकल्पहरूमध्ये आफू आबद्ध रहेको बैंक तथा वित्तीय संस्थाले दिने सेवा, आफ्नो क्षेत्रमा उपलब्ध प्रणाली र आफूले गर्ने भुक्तानी कारोबारको आकार तथा भुक्तानीको शीघ्रताका आधारमा उपयुक्त विकल्प छनोट गर्न सक्छौं । नियामक निकायले तोकेको कारोबार सीमा र प्रणालीसम्म पहुँच पुर्याउन पूर्वाधारको उपलब्धताको सीमितता बाहेक हामीले गर्ने भुक्तानी कारोबारमा जुनसुकै विकल्प चयन गर्न सक्छौं ।

यी प्रविधिहरू अन्तर्राष्ट्रिय रूपमा वर्षौंदेखि प्रयोग र प्रमाणित भइसकेका कारण तिनको क्षमता र सुरक्षाका बारेका हामीले सन्देह मान्नुपर्ने कुनै कारण रहँदैन । तर प्रयोगकर्ताको असावधानी र साक्षरताको कमीले गर्दा आइपर्ने विभिन्न जोखिमका बारेमा सुरुमै सचेत गराउन सेवा प्रदायक र नियामक निकाय दुवैको बराबर दायित्व रहन्छ । हाम्रो मुलुकमा सीमित भौगोलिक क्षेत्र र सीमित समूहका उपभोक्ताहरू बीचमा मात्र अधिकांश भुक्तानी विकल्पहरू केन्द्रित रहेको छ । भौगोलिक अवस्था तथा पूर्वाधारको पहुँचका आधारमा उपयुक्त भुक्तानी प्रणाली विस्तार गरी वित्तीय समावेशीकरण स्थापित गर्न सकेमात्र हामीले कल्पना गरेको डिजिटल अर्थतन्त्र स्थापना सम्भव हुने हुँदा त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।

(यो लेख नेपाल राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सव विशेषाङ्क २०७८ बाट लिईएको हो । सम्पादक)

TK Viber

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

Loading...