अनलाइनबाटै मनोपरामर्श सेवा

Technology Khabar २७ बैशाख २०७८, सोमबार

अनलाइनबाटै मनोपरामर्श सेवा

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा श-या अभाव छ भने अर्काेतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको छ । समाजमा देखिएको यो समस्यालाई कम गर्ने उद्देश्यले केही मनोचिकित्सकले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ अनलाइनबाट परामर्श दिन सुरु गरेका छन् ।

‘ह्याप्पी माइन्डस् डट हेल्थ’का प्रबन्ध निर्देशक श्रेया गिरीले भनिन्, “कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ । नेपालमा पनि यो समस्या छ । यही समस्या निराकरण गर्ने उद्देश्यले मनोचिकित्सकको समूह बनाएर सेवा दिन सुरु गरेका हौँ ।” गोपनीयता कायम गरेर विशेषज्ञको टोलीले परामर्श दिने गरेको उनले जानकारी दिईन् ।

गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप सुरु भएपछि आफूमा पनि मानसिक स्वास्थ्य समस्या देखिएकाले अरू मानिस यस्तो अवस्थाबाट गुज्रिन नपरोस् भनेर परामर्श दिने अवधारणा ल्याएको उनले स्पष्ट पारिन् ।

यो अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने बताइएको छ ।

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइन्डस् डट हेल्थमा नेपाल, अमेरिका र अस्ट्रेलियामा काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ आबद्ध छन् । डा. शाक्यले कोभिड–१९ महामारीका बेला मानिसमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउँदै रोजगारदातालाई आफ्ना कर्मचारी र शैक्षिक संस्थालाई आफ्ना विद्यार्थीको मानसिक स्वास्थ्यको ध्यान दिन आग्रह गरे ।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा देह त्यागका घटना पनि बढ्दै गएको बताउँदै उनले आफ्ना परिवारका सदस्य तथा साथीमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरूबाट परामर्श लिन आग्रह गरे । गोरखापत्र दैनिकबाट

TK Viber

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

Loading...